भुटानमा राष्ट्रव्यापी लकडाउन

हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ ।

विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि लकडाउन गर्नुपरेको सरकारले जनाएको छ ।

सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब सात लाख ५० हजार जनसङ्ख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरू बन्द गरिएका छन् ।

सरकारले लकडाउन पाँच दिनदेखि २१ दिनसम्म जारी रहनेछ । यस अवधिमा सबै सङ्क्रमितको पहिचान गर्ने तथा सबै सङ्क्रमितलाई अलग्याउने जनाउँदै सरकारले यस कार्यबाट भाइरस प्रसारको साङ्लो तोडिने विश्वास लिएको छ ।

कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाइएको थियो । तर उनमा सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशङ्का छ ।

पर्यटन आश्रित मुलुक भुटानले एक अमेरिकी पर्यटकमा कोरोना पुष्टि भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकलाई भुटान प्रवेशमा रोक लगाइएको छ । भुटानका सबै ११३ जना सङ्क्रमित व्यक्तिलाई क्वारेन्टिनमा राखिएको थियो ।


ताजा खबर