वीर, प्रसूति र गंगालालमा नयाँ अत्याधुनिक भवनबाट सेवा, कुनमा कस्तो सुविधा?

उपत्यकाका प्रमुख ३ सरकारी अस्पतालले नयाँ भवनबाट उपचार सेवा दिने भएका छन् । नेपाल सरकार तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा निर्मित नयाँ अत्याधुनिक प्रविधियुक्त भवनबाट वीर अस्पताल र परोपकार तथा प्रसूतिगृहले शुक्रबार (२७ असार)देखि औपचारिक रूपमा सेवाको शुभारम्भ गर्दै छन् ।

बिरामीको अत्यधिक चाप हुने यी दुवै अस्पतालमा जाइकाको आर्थिक सहयोग र नेपाल सरकारको आन्तरिक व्यवस्थापनमा नयाँ भवन निर्माण सम्पन्न भएका हुन् । बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रले यसअघि नै अत्याधुनिक नयाँ भवनबाट आकस्मिक सेवा सुचारु गरिसकेको छ भने अन्य सेवा पनि नयाँ भवनमा विस्तार गर्ने तयारी छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले नवनिर्मित भवनबाट प्रदान गरिने सेवाको औपचारिक उद्घाटन शुक्रबारदेखि गर्दै छ । ०७२ को महाभूकम्पले अस्पतालको भवनमा क्षति पुर्याएपछि उपचार सेवामा बाधा पुगेको थियो । जाइकाको सहयोगमा नेपाल सरकारले १५ महिनाअघि सुरु गरेको भवन निर्माणकार्य सम्पन्न भई औपचारिक रूपमा शुक्रबारदेखि सेवा सञ्चालन हुन लागेको अस्पतालका निर्देशक डा। जागेश्वर गौतमले जानकारी दिए ।

‘नयाँ भवनमा अत्याधुनिक सुविधा तथा प्रविधि जडान गरिएका छन् । केही शय्या बढाइएका छन् । अस्पतालले ४ सय १५ शय्या सञ्चालन गर्ने अनुमति पाए पनि त्यसका लागि आवश्यक भवन उपलब्ध थिएन,’ डा। गौतमले भने, ‘नयाँ भवन सञ्चालनमा आएसँगै हामीले अनुमतिअनुसार शय्या सञ्चालन गर्ने भएका छौँ ।’ नयाँ भवनमा एमआइसियू, पोस्ट अवार्ड, लेबर रुम सबै अत्याधुनिक बनाइएको छ । त्यसैगरी, इमर्जेन्सी डेलिभरी रुम, बर्थिङ सेन्टर, पोस्ट अपरेटिभ वार्डलगायत सेवा उपलब्ध हुने भएका छन् ।

अस्पतालको नयाँ भवन जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिदिएको हो । नयाँ भवन निर्माणको लागि १ अर्ब ३० करोड खर्च भएको निर्देशक डा। गौतमले जानकारी दिए । प्रसूतिगृहको अत्याधुनिक नयाँ भवनमा २४ शय्याको आकस्मिककक्ष, चिकित्सकको निगरानीमा हुने डेलिभरी रुम, नर्सको निगरानीमा हुने डेलिभरी रुम, दुईवटा शल्यक्रियाकक्ष, १२ शय्याको आमाका लागि आइसियू, ४० शय्याको बच्चाको आइसियूलगायत १ सय ७० शय्या सञ्चालनमा आएका छन् । यद्यपि, औपचारिक उद्घाटन भने शुक्रबार हुँदै छ ।

गंगालाल राष्ट्रिय हृदय केन्द्र

काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सुविधासम्पन्न आकस्मिककक्ष सञ्चालनमा आएको छ । आकस्मिककक्षमा शय्यासंख्या न्यून भएका कारण नयाँ आधुनिक भवन निर्माण गरेको अस्पतालले जनाएको छ । अस्पतालले यसअघि २४ शय्याको आकस्मिककक्षमार्फत बिरामीलाई सेवा दिँदै आएको थियो । नयाँ भवन निर्माण गरी विकास गरिएको आकस्मिककक्षमा सुविधासम्पन्न ३८ शय्यामार्फत सेवा सुरु गरिएको छ ।

पुरानो कक्षमा आधारभूत सुविधा मात्र भएको र साँघुरो भएकाले नयाँ कक्ष बनाइएको अस्पतालका निर्देशक डा। ज्योतिन्द्र शर्माले जानकारी दिए । नयाँ भवनमा हृदयाघात भएर आउने बिरामीका लागि शल्यक्रियाकक्ष, क्याथल्याब, गम्भीर बिरामीलाई आवश्यक पाइपलाइन अक्सिजनलगायत आधुनिक सुविधा उपलब्ध छन् । ‘आकस्मिककक्षमा बिरामीको तुरुन्तै शल्यक्रिया गर्न मिल्ने गरी क्याथल्याब कोठा, अपरेसन थिएटरको व्यवस्था छ,’ निर्देशक डा। शर्माले जानकारी दिए ।

अस्पतालमा आउने मुटु तथा उच्च रक्तचापका बिरामीका लागि प्रभावकारी सेवा दिन आधुनिक आकस्मिककक्षलगायत अन्य सेवा आवश्यक परेकाले २ वर्षअघि भवन निर्माणकार्य सुरु भएको थियो । नेपाल सरकारको सहयोगमा करिब ४९ करोडको लागतमा नयाँ भवन निर्माण सम्पन्न भएको अस्पतालले जनाएको छ ।

आकस्मिककक्षले ओगटेका बाहेक तीनतले नयाँ भवनका बाँकी कोठा बहिरंग विभागका लागि प्रयोग गरिने अस्पताल प्रशासनले जनाएको छ । बहिरंग विभाग पनि मुटुका बिरामीका लागि सहज हुने गरी निर्माण गरिएको छ । भवनमै आइसियू कोठाहरू, चारवटा क्याथल्याब सेवा, मडुलर अप्रेसन थिएटर, नयाँ आइसियू सेवा सञ्चालनमा रहनेछन् ।

वीर अस्पताल

२०७२ को भूकम्पका कारण क्षतिग्रस्त बन्न पुगेको वीर अस्पतालको नयाँ भवन पनि शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । भूकम्पले अस्पतालका नयाँ आइसियू भवन, मेडिकल रेकर्ड शाखा रहेको भवन र फोहोरमैला व्यवस्थापन केन्द्रको भवनमा क्षति पुर्याएको थियो ।
जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको नयाँ भवनमा ९४ शय्या सञ्चालनमा हुनेछन् । भवनमा कोर्डियोलोजी वार्ड, ग्यास्ट्रोलोजी वार्ड, नेफ्रोलोजी विभाग रहने अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले जानकारी दिए । शल्यक्रियाकक्ष, भेन्टिलेटरसहितको सिसियूकक्षसमेत नयाँ भवनमा रहनेछन् ।

जाइकाको आर्थिक सहयोगमा निर्माण गरिएको भवनमा नेपाल सरकारको आन्तरिक व्यवस्थापनबाट समेत उपकरण खरिद गरिएको डा। सेञ्चुरीले बताए ।


ताजा खबर