मेडिसिटीमा फेरी कोरोना देखियो : अस्पतालमै कोरोना संक्रमण भई जनकपुरका पूर्वमेयरको मृत्यु

जनकपुरधामका पूर्व नगरप्रमुख कृष्ण गिरीको कोरोना संक्रमणका कारण निधन भएको छ । ललितपुरस्थिति मेडिसिटी अस्पतालमा उपचाररत गिरीको राति १२ बजेर १० मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

जनकपुरधामस्थित होटेल रामाका सञ्चालकसमेत रहनुभएका ७२ वर्षीय गिरीलाई मस्तिष्कघात भएपछि साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । जनकपुरधाम–२, मिल्स एरिया निवासी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

परिवारका सदस्य अनुराग गिरीका अनुसार उपचारकै क्रममा राति निधन भएको र शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी गर्दैछ । उपचारकै क्रममा उहाँमा कोरोना सङ्क्रमणको पुष्टि भएको बताइएको छ । विक्रम सम्वत् २०४४/४५ मा जनकपुरधाम नगरपालिकाको मेयरमा निर्वाचित उहाँ पञ्चायत कालका अन्तिम मेयर हुनुहुन्थ्यो।

अष्ट्रेलिया र बेलायतमा रहनुभएका गिरीका दुवै छोरा एक साताअघि मात्रै नेपाल आउनुभएको हो । वि.सं. २००५ साल साउन २७ गते जन्मिनुभएका गिरीको ७२ वर्ष पूरा भएकै दिन निधन भएको हो । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

नेपालको निजि क्षेत्रको ठुला अस्पतालहरु मध्येको मेडिसिटिमा उपचारकै क्रममा कोरोना सङ्क्रमण देखिनुले खतरा बढेको अनुमान जनस्वास्थ्य बिद्हरुले गरेका छन् ।  उपचाररत बिरामीमा अस्पतालजन्य संक्रमणका रुपमा  कोरोना पुष्टि भएकोले अस्पतालमा नै कोरोना संक्रमण रहेको आशंकाका कारण चिकित्साकर्मी तथा कर्मचारीहरु त्रसित छन् ।


ताजा खबर