रवि लामिछानेले विदेश जान अदालतको स्वीकृत लिनु नपर्ने

उच्च अदालत पाटनको हेटौंडा इजलासले टिभी प्रस्तोता रवि लामिछानेलाई विदेश जान स्वीकृति लिनुपर्ने आदेश बदर गरिदिएको छ।

यसअघि चितवन जिल्ला अदालतले विदेश भ्रमणबाहेक दिएका अन्य आदेशहरु भने उच्च अदालतले यथावत राखेको छ।

न्यायाधीश चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयूक्त इजलासले यस्तो निर्णय गरेको हो। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दूरुत्साहन अभियोगमा उनलाई भदौ ९ गते चितवन जिल्ला अदालतले मुद्दाको टुंगो नलाग्दासम्म अदालतको स्वीकृतिविना  विदेश जान नपाउने  आदेश दिएको थियो। यस्तो आदेशमात्र पाटन उच्च अदालतको हेटौडा इजलासले  बदर गरेको रजिष्टार विकास श्रेष्ठले बताए।

मुद्दाको टुंगो नलागेसम्म पुडासैनीको आत्महत्या विषयलाई लिएर अनुसन्धानमा संलग्न प्रहरी, अभियोजनकर्ता सरकारी वकिल, पिडित परिवार, मुद्दाका सम्बद्ध साक्षी, मौकामा बुझिएका अन्य व्यक्तिहरू प्रमाणको वैज्ञानिक परीक्षणमा संलग्न विशेषज्ञ, चिकित्सक, अदालत, र समग्र न्यायिक प्रकृयाको बारेमा सार्वजनिकरूपमा लामिछानेले विचार व्यक्त गर्न नपाउने र ५ लाख धरौटी बुझाउनुपर्ने जिल्लाको निर्णयलाई भने उच्च अदालतले यथावत राखेको छ।

पुडासैनी साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। पुडासैनीको साथबाट प्राप्त आत्महत्याअघि खिचिएको भिडियोमा उनले लामिछानेसहित तीन जनाका कारण आफू मर्नुपरेको बताएका थिए। त्यही भिडियोका आधारमा प्रहरीले लामिछानेलाई आत्महत्या दुरूत्साहन  मुद्दा चलाएको हो।


ताजा खबर