नेपाल र चीनबीचको कूूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता

चीनका राष्ट्रपति सी चिनफिङले चीन-नेपाल सम्बन्धलाई थप घनीभूत बनाउनु महत्त्वपूर्ण भएको शनिवार बताएको भनी चीनको सरकारी सञ्चारमाध्यम सीजीटीएनको अन्लाइन संस्करणमा लेखिएको छ ।

द्विपक्षीय सम्बन्धलाई निरन्तर अघि बढाउनका लागि आफू नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर काम गर्न इच्छुक रहेको सीको भनाइ छ ।

नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वर्षगाँठका अवसरमा राष्ट्रपति भण्डारीसँग शुभकामना सन्देश आदानप्रदानको सिलसिलामा सीले दुई देशका जनताको बृहत्तर हितका लागि अनि क्षेत्रीय स्थिरता तथा विकासका लागि राष्ट्रपति भण्डारीसँग मिलेर काम गर्न आफू तयार रहेको बताए ।

अघिल्लो वर्ष राजकीय भ्रमण गरेको र द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको तहमा उकालेको पनि सीले स्मरण गरे । यो साझेदारी विकास तथा समृद्धिका लागि गरिएको उनले बताए ।

चीन र नेपालले एक अर्कालाई सहयोग गरेको अनि सुखदुःखमा साथ दिएको सीको भनाइ छ । कोभिड–१९ महामारीविरुद्ध संयुक्त रूपमा लड्ने दुई देशको प्रयास द्विपक्षीय मित्रताको नयाँ अध्याय भएको उनले बताए ।

चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको समयदेखि नै दुई देशले एकअर्काको सम्मान गरेको, एकअर्कालाई समान हैसियतमा सम्मान दिएको, पारस्परिक राजनीतिक विश्वास हासिल गरेको र पारस्परिक हितका लागि सहकार्य गरेको सीको कथन छ ।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएदेखि द्विपक्षीय सम्बन्ध उल्लेख्य रूपमा विस्तार भएको र थप गहिरिएको बताइन् । चीनले मानवजातिको साझा भविष्यका सहितको समुदाय बनाउनका लागि विचारधारा गरेको प्रस्तावलाई नेपालले स्वागत गरेको अनि बेल्ड यान्ड रोड इनिसिएटिभमा सहभागी बनेको उनले बताइन् ।

चीनका प्रधानमन्त्री ली खछ्याङले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिवार शुभकामना सन्देश आदानप्रदान गरेका छन् ।

कोभिड–१९ महामारीविरुद्ध मिलेर लड्नका लागि दुई देशले काम गरेसँगै पारस्परिक विश्वास र मित्रता थप बलियो बनेको लीले बताए । चीनले नेपालसँगको व्यापक सहकार्यलाई थप मजबूत बनाउन चाहेको र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने इच्छा व्यक्त गरेको उनको भनाइ छ ।

आफ्नो सन्देशमा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्ध स्थिर तथा स्वस्थ ढंगले अघि बढिरहेको बताए । महामारीसँग लड्नका लागि चीनले गरेको सहयोगलाई नेपालले सकारात्मक रूपमा लिएको र आर्थिक पुनरुत्थानका लागि चीनसँग नजिकै रहेर काम गर्न खोजिरहेको बताए । द्विपक्षीय सम्बन्धबाट थप उपलब्धि हासिल गर्न आफूहरू इच्छुक रहेको उनको कथन छ । सिन्ह्वा / सीजीटीएन


ताजा खबर