नेकपाको आन्तरिक विवादमा सहमति प्रयास जारी : स्थायी कमिटी बैठक साउन १३ गते बस्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी एकता मजबुत बनाउन नेताहरूले प्रयास जारी राखेका छन् ।

स्थायी कमिटी बैठकअघि नै विवादित विषयमा सहमति हुने वातावरण बनिरहेको स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुुभयो । स्थायी कमिटी बैठक साउन १३ गते बस्ने तय भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच साउन ९ गते छलफल भएको हो । छलफललाई निरन्तरता दिने दुई अध्यक्षको सहमतिअनुसार सोमबार छलफल भएर मङ्गलबार बैठक बस्ने नेता नेम्वाङको भनाइ छ ।

दुई अध्यक्षबीच देखिएको विवाद कम गर्न र छलफल सहज बनाउन विभिन्न तहमा शीर्ष नेताहरूको छलफल चलिरहेको बताउँदै उहाँले छिट्टै सहमति हुने विश्वास व्यक्त गर्नुभयो । मङ्गलबार बस्ने स्थायी कमिटी बैठक पुनः स्थगित नहोस् भन्ने प्रयासमा आफूहरू लागेको उहाँले बताउनुभयो । दुवै अध्यक्ष भेटेर पार्टीलाई निकास दिन आग्रह गरिएको उहाँले बताउनुभयो ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अध्यक्षद्वयबीच छलफल निष्कर्षमा नपुगेका कारण बैठक बस्न समस्या देखिएको बताउनुभयो । “उहाँहरूले छलफललाई निरन्तरता दिइरहनुभएको छ तर कुरा मिलेको छैन । आशा गरौँ, बैठक बस्ला’’, उहाँले थप्नुभयो, “अध्यक्षद्वयबीच सहमति होस्, छलफल निष्कर्षमा पुगोस् भनेर हामीबाट सहयोग भइरहको छ । ढिलोचाँडो सहमति हुन्छ ।”
असार १० देखि स्थायी कमिटी बैठक सुुुरु भएको हो । एक दिन बिराएर असार १८ सम्म बैठक चल्यो तर मन्त्रिपरिषद् बैठकबाट चालू संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि स्थायी कमिटी बैठक प्रभावित भयो । त्यसपछि पटक पटक बैठक बस्ने मिति तय गरिए पनि अध्यक्षद्वयबीच सहमति नहुँदा बैठक स्थगित हुँदै आएको छ ।

यसैबीच आइतबार अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशका नेताहरूसँग छलफल गर्नुभएको छ । पार्टीका विभिन्न विषयमा उहाँले नेताहरूसँग छलफल गर्नुभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो ।


ताजा खबर