जनकपुर-जयनगर रेल लकडाउन पूर्णरुपमा हटेपछि सञ्चालन हुने

नेपालको एक मात्र जनकपुर जयनगर ब्रोडगेज रेल सेवा सञ्चालनका लागि दुई वटा इन्जिन तथा आठ वटा वोगी तयारी अवस्थामा रहेको छ ।

लकडाउन पूर्णरुपमा खुलेपछि सञ्चालन गर्न मिल्ने भएको छ । नेपाल सरकारले भारतीय कम्पनीसँग खरिद गरेको डिजल तथा इलेक्ट्रिकबाट चलाउन मिल्ने दुई वटा इन्जिन तथा आठ वटा वोगी भारतको सोनपुरमा तयारी अवस्थामा रहेको नेपाल रेल विभागका साइट कार्यालय जनकपुरधामका प्रमुख एवं इन्जिनियर बिनोद ओझाले जानकारी दिनुभयो ।

निर्माण भएका वोगीमा दुई वटा एसी रहेको छ भने बाँकी रहेका छ वटा साधारण वोगी रहेको छ ।

नेपाल सरकारले खरिद गरेको सो रेल वोगीसहितको इन्जिन भारतको जयनगरदेखि नेपालको जनकपुरधामको कुर्थासम्म सञ्चालनका लागि सबै संरचनाहरू पूर्णरुपमा तयारीको अवस्थामा रहेको छ ।

केही कुराहरू बिग्रेको वा हराएकोमा त्यसको मर्मत गरेपछि सञ्चालन गर्न मिल्ने साइट कार्यालयका इन्जिनियर ओझाले जानकारी दिनुभयो ।

भारतको जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको दूरी रहेको छ । कुर्थादेखि पश्चिमको भागमा पनि निक्कै काम भए पनि अरू ठाउँमा काम बाँकी नै रहेकाले अहिले कुर्थासम्म सञ्चालन गर्ने तयारीमा रहेको छ ।
नेपाल सरकारले खरिद गरेको रेलमा एक पटकमा बसेर वा उठेर आरामले एक हजार दुई सय जना यात्री ओहोरदोहोर गर्न मिल्ने रेल विभागले जनाएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा रेलको संरचनाहरूको निर्माण भए पनि रेलको इन्जिन तथा वोगी नेपाल सरकारले नै खरिद गरेर आफ्नो झन्डासहित सञ्चालन गर्ने तयारीमा रहेको छ ।

रेल सञ्चालनका लागि जनशक्तिको व्यवस्थापनमा विभाग लागि परेको छ । यस पटकको वर्षा तथा बाढीले हालसम्म रेलको संरचनामा कुनै प्रकारको क्षति नगरेको रेल विभागको साइट कार्यालयका प्रमुख एवं इन्जिनियर ओझाले जानकारी दिँदै भारतमा पनि लकडाउन रहेकाले पूर्णरुपमा हटेपछि सोनपुरवाट इन्जिन तथा वोगी ल्याएर नेपाल ल्याएर सञ्चालन हुने बताउनुभयो । रासस


ताजा खबर