एक हजार रुपैयाँ दरका नयाँ नोट बजारमा

नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँको नयाँ डिजाईनका नोटहरु बजारमा प्रवाह गर्ने भएको छ । एक हजार रुपैयाँ दरका नोटमा अब एउटा हात्तीको साटो अब दुई वटा हात्तीहरु हुनेछन् । सौराहामा रहेको रामलक्ष्मण हात्तीको तस्विर भएको नयाँ नोट बजारमा प्रवाह गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

निवर्तमान गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर रहने ति नोटहरु यसअघि नै राष्ट्र बैंकले छपाई गरी स्टोरमा राखेको थियो । राष्ट्र बैंकका अनुसार नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र समेटिएको छ । त्यस्तै, नोटको दायाँतर्फ लालीगुराँस र एक हजारको नोट जनाउने अंग्रेजी अंकमा १००० को पानी छाप रहेको छ ।

त्यस्तै, नोटको तल्लो भागमा विस २०७६ लेखिएको केन्द्रीय बैंकद्वारा जारी सूचनामा जनाइएको छ । राष्ट्र बैंकले जनाए अनुसार नयाँ एक हजार दरका नोटमा चितवनमा रहेको देवीकली भन्ने हात्तीले जन्माएको जुम्ल्याहा दुर्लभ हात्ती राम लक्ष्मणको चित्र अंकित रहेको छ ।

राष्ट्र बैंकले उल्लेखित नयाँ नोट आधिकारिक भएको भन्दै नझुक्किन समेत सबैमा आग्रह गरेको छ ।


ताजा खबर