विश्व बैंकको सहयोगमा युवारुप परियोजना शुरु

आन्तरिक रोजगारीलाई प्रवर्धन गर्न ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ शुभारम्भ गरिएको छ ।

सोमवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलङ्कका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले संयुक्त रुपमा आयोजनाको शुभारम्भ गर्नुभयो ।

त्यस अवसरमा मन्त्री यादवले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण विश्वमै रोजगारीका क्षेत्रमा आएको संकुचनले नेपालको श्रम बजार प्रभावित भएको र ठूलो संख्यामा श्रमिकले रोजगारी गुमाउनु परेको सन्दर्भमा सुरु भएको यस आयोजनाको तीनै तहबाट परिणाममुखी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले चालु आर्थिक वर्षमा सामाजिक र आर्थिक जोखिममा रहेका करिब ७५ हजार विपन्न बेरोजगार युवालाई सार्वजनिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नति गर्ने कार्यमा परिचालन गरी एक सय दिनको ज्याला उपलब्ध गराउने कार्यक्रम रहेको बताउनुभयो ।

आर्थिक रुपमा विपन्न बेरोजगार युवालाई रोजगारीका अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तारमार्फत श्रम बजारको परिणाममा सुधार ल्याउने लक्ष्यका साथ सञ्चालित आयोजना प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध गरी आगामी चार वर्षसम्म सञ्चालन हुने र आयोजनाको कूल रकम करिब १४ अर्ब रुपैया रहेको छ ।

अर्थ मन्त्रालय र विश्व बैंकबीच नोभेम्बर २०१९ मा आयोजनामा हस्ताक्षर भएको थियो ।


ताजा खबर