पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान प्रदान

इतिहासकार डा.महेशराज पन्तलाई २०७५को पद्मश्री साधना सम्मान र निबन्धकार रमेश सायनलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको छ।

दुईसय भन्दा बढी शोधलेखका साथसाथै ६ वटा पुस्तक प्रकाशित गरेका नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषक इतिहासकार तथा संस्कृतज्ञ डा.महेशराज पन्तलाई २०७५को पद्मश्री साधना सम्मान अर्पण गरिएको छ।

त्यस्तै निबन्धकार रमेश सायनको संस्मरणात्मक निबन्धको संग्रह ‘छुटेका अनुहार’लाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको छ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले आज धुम्बाराहीस्थित अकामी होटेलमा कार्यक्रम आयोजना गरि दुई लाख रुपैयाँ राशीसहितको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान प्रदान गरेको हो।

२०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।

त्यसैगरी २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको छ।


ताजा खबर