ढकाल समूहको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले आज उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आज आफ्नो समूहमा उम्मेदवारको समेत घोषणा गर्नुभएको हो ।

समूहमा जिल्ला-नगर उपाध्यक्षमा गुणनिधि तिवारीको उम्मेदवारी घोषणा भएको छ । उहाँ हाल महासङ्घको प्रदेश ५ कमिटीको अध्यक्ष हुनुहुन्छ । यस्तै वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने देखिएको छ । त्यस्तै एसोसिएट उपाध्यक्षमा रामचन्द्र सङ्घाईलाई उम्मेदवार बनाइने भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । सोही प्रावधानका कारण वरिष्ठ उपाध्यक्षको पद आकर्षक देखिएको छ । आगामी साउन २६ र २७ गते महासङ्घको अधिवेशन हुने कार्यक्रम तय भएको छ ।

उम्मेदवारी घोषणा गर्दै उपाध्यक्ष ढकालले कोरोनाका सिर्जना भएका स्वास्थ्य र आर्थिक चुनौतीलाई सामान गरेर अगाडि बढ्नुपर्ने र त्यसका लागि सरकार र निजी क्षेत्रको बीचमा साझा प्रयास हुनुपर्ने बताउनुभयो ।

आर्थिक चुनौती संसारभरका सरकार र निजी क्षेत्र दुवैले मिलेर सामना गरिरहेको उल्लेख गर्दै उहाँले व्यक्तिगत पहलले मात्रै कुनै पनि काम अगाडि नबढ्ने बताउनुभयो । महासङ्घमा आउने नयाँ नेतृत्वका रुपमा आउन आफ्नो समूहले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त नगरी मुलुकले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्ने ढकालले विश्वास व्यक्त गर्नुभयो ।


ताजा खबर