वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो

बिदामा नेपाल आई वैदेशिक रोजगारीमा जानेहरूका लागि सरकारले पुनः श्रम स्वीकृति दिने निर्णय गरेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।

वैदेशिक रोजगारीमा जानका लागि पुनः श्रम स्वीकृति लिन लकडाउनका कारण रोकिएको थियो । अहिले पुनः श्रम स्वीकृति दिने सरकारले निर्णय गरेपछि ३५ सय जनाभन्दा बढीले श्रम स्वीकृति लिइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

सरकारले बिदामा नेपाल आएका, करार तथा भिसाको अवधि बाँकी रहेका व्यक्तिलाई पुनः वैदेशिक रोजगारीमा जानका लागि सात वटै प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ ।

यसरी पुनः श्रम स्वीकृति लिनका लागि सम्बन्धित कम्पनीको स्वीकृति पत्र, भिसा लगायतका कागजपत्र आवश्यक पर्ने र लकडाउनका कारण समयमा जान नपाई भिसाको म्याद सकिएका लागि अनलाइन भिसा र बाँकी कागजपत्रको सक्कलप्रति आवश्यक पर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । आवश्यक सबै कागजपत्र भएका र श्रम स्वीकृति लिन चाहनेहरूलाई श्रम स्वीकृति दिइएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताउनुभयो ।

श्रम स्वीकृति लिन जाने व्यक्तिले अनिवार्य रूपमा सेनिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेको कोभिड–१९ को प्रोटोकल पालना  गर्नुपर्ने हुन्छ ।

सरकारले पुनः श्रम स्वीकृति दिन गरेको निर्णय असार १९ गते शुक्रबारदखि कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिनेहरूको सङ्ख्या बढ्दै गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

‘नियमित उडान नभएको हालको अवस्थामा पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जान चाहनेले खर्च तथा जहाज सम्बन्धी सबै व्यवस्था आफैँ मिलाउनुपर्ने हुन्छ । यसका लागि आफूलाई अनुकूल पर्ने चार्टर उडानबाट जानुपर्ने वा पुनः श्रम स्वीकृति लिएको तीन महिनाभित्र अवस्था सामान्य भएमा नियमित उडानबाट समेत जान सक्ने व्यवस्था रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक दाहालले बताउनुभयो ।’

वैदेशिक रोजगारीमा जानेहरूले आँफु जाने गन्तव्य मुलुकको विदेशी कामदार भित्र्याउने नीति र स्वास्थ्य सम्बन्धी प्रोटोकलको जानकारी स्वयं व्यक्तिले राख्नुपर्ने हुन्छ । साथै गन्तव्य मुलुक प्रस्थान गर्नुअघि ती मुलुकको स्वास्थ्य प्रोटोकलका आधारमा आवश्यक पर्ने भएमा कोभिड–१९ को परीक्षणको रिपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डेस्कमा पेस गर्नुपर्ने समेत व्यवस्था रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । रासस


ताजा खबर