आदिकवि भाषिक एकताका अभियान्ताः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ऋषिमुनिहरुको तपोभूमि र ध्यान भूमि भएकाले नै विश्वमा ज्ञान भूमिका रुपमा प्रसिद्ध रहेको बताउनुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज प्रधानमन्त्री निवास बालुवाटरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले हाम्रा पुर्खाले जोडेको भाषिक र सांस्कृतिक सम्बन्धलाई पुर्नजागरण गर्न भानुभक्त आचार्यले महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्नुभयो ।

शन्तिपूर्ण र सुविचारयुक्त समाजको निर्माणमा लाग्ने उचित समय आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्ध कला, साहित्य र संस्कृतिको माध्यमबाट राष्ट्रिय एकतामा सँगै यात्रा गर्न सम्पूर्ण सर्जकहरुलाई आग्रह गर्नुभयो ।

हिमबत्खण्डको कला साहित्य र संस्कृति संसारमै उत्कृष्ट रहेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले दुनियाँ अन्धकार युगमा रहदा हाम्रा पुर्खाहरुले संगठितरुपमा ज्ञान छर्दै आएको स्मरण गर्नुभयो ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा. बिजय सुब्बाले स्रष्टाहरुले राष्ट्रिय एकताका पक्षमा पर्याप्त शव्द खर्च गर्न नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषिक एकताबाट मात्रै राष्ट्रियता कायम हुने बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले संसारभर छरिएर बसेका नेपाली भाषीहरुबीच भानुक्त सर्किट गठन गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा हिमबत्खण्ड कला साहित्य सम्मिलन २०७५ स्मारिकाको पनि बिमोचन गरिएको थियो ।

स्मारिकाबारे आफ्नो विचार प्रस्तुत गर्नुहुँदै मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव एवं प्राज्ञ डा. देवी नेपालले हिमबत् कला साहित्य सम्मिलनका सम्पूर्ण गतिविधि स्मारिकामा समावेश भएको बताउनुभयो ।

प्रतिष्ठानले २०७५ साल आसार २८, २९ र ३० गते भानुजयन्तीकै अवसरमा काठमाडौंमा त्रिदिवसीय हिमबत्खण्ड कला साहित्य सम्मेलनको आयोजना गरेको थियो ।

यस अवसरमा राष्ट्रिय सभाका सांसद कोमल ओली, गायिका लोचन भट्टराई र सञ्चारकर्मी डा. रत्नावली शर्माले भानुत्तीय रचना वाचन गर्नुभएको थियो ।

प्रतिष्ठानले अगामी वर्ष लुम्बिनीमा हिमबत्खण्ड सांस्कृतिक सम्मेलनको आयोजना गरिने पनि घोषणा गरेको छ । रासस


ताजा खबर