लकडाउनको मारमा किसान : खेती गर्ने जग्गाको भाडा तिर्न समस्या

जिल्लाको हरिवन नगरपालिका–४ सासापुर तीनघरेका एक दम्पतीले जग्गा भाडामा लिएर तरकारी खेती गरेका छन् ।

हरिवन नगरपालिका–४ सासापुर तीनघरेका रामकुमार भुजेल र सम्झना भुजेलले पाँच बिघा जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन् ।

ती जग्गाको वार्षिक रु. तीन लाख भाडा तिर्ने गरी सम्झौता भएको छ । तर उत्पादन गरेको तरकारीले बजार नपाउँदा उनीहरु समस्यामा परेका छन् ।

तीन बिघामा लगाएको भिन्डी, फर्सी, घिरौला, लौका र दुई बिघामा लगाएको परवल उत्पादन भए पनि बिक्री गर्न नपाउँदा समस्यामा परेको उनीहरुले गुनासो गरेका छन् ।

तरकारी उत्पादनको मुख्य सिजनमै लकडाउन भएपछि तरकारी बेच्न नपाएको रामकुमारको गुनासो छ ।

“तरकारी उत्पादन भयो तर बजार पाएन, लकडाउन भयो, बिक्री वितरण गर्न नपाएपछि १५ कठ्ठामा लगाएको भिन्डी ट्र्याक्टर लगाएर जोतेँ”, भुजेलले भन्नुभयो, “प्रतिकिलो रु पाँचमा समेत बिक्री नभएपछि आफूले बाध्य भएर जोतेको छु ।”

विभिन्न ठाउँका व्यापारीले तरकारीका लागि सम्पर्क गरे पनि लकडाउनले गर्दा कोही पनि आउन वा कहीँ पनि पठाउन नपाएको रामकुमारको भनाइ छ ।

ज्यालामा मान्छे लगाएर निकै मेहेनत गरी पाँच बिघामा फलाएको तरकारी बिक्री नहुँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको रामकुमारकी श्रीमती सम्झना भुजेलले गुनासो गर्नुभयो ।

डिग्री पास गरेर कृषिकर्ममा लागेका भुजेल दम्पतीले कोभिड–१९ को विरुद्ध देशभर लगाइएको लकडाउनले गर्दा तरकारी बिक्री नहुँदा मर्कामा परेको भन्दै स्थानीय सरकारसँग सहयोगको मागसमेत गरेका छन् । उनीहरुले आफ्नो खेतबारीमा उत्पादित तरकारी बिक्री वितरण गरेर घर व्यवहार चलाउने गरेका थिए ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण सर्लाही जिल्लाका तरकारी उत्पादक किसान मारमा परेका छन् । किसानले उत्पादन गरेको तरकारी बजारमा बिक्री गर्न नपाउँदा बारीमा नै कुहिएर जाने गरेको छ ।

सबैतिरका बजार बन्द, आवतजावत तथा तरकारी ढुवानीको समस्या भएपछि तरकारी बारीमै कुहिन थालेको कृषकको दुखेसो छ । तरकारीको मुख्य सिजनको समयमा किसानले बिक्रीका लागि तयार भएको बन्दा फर्सीलगायतका तरकारी यतिबेला बजारमा ढुवानी गर्न सकिरहेका छैनन् ।

लकडाउनका कारण जिल्लाका अधिकांश साप्ताहिक हाटबजार लाग्न छाडेका छन् भने बाहिर पठाउन सवारी साधन सञ्चालन नहुँदा खेतबारीमै तरकारी कुहिन थालेका किसानले गुनासो गरेका छन् ।

कोरोना सङ्क्रमण फैलिने डरले गाउँघरका हाटबजारमा मानिसको चहलपहल बन्द हुँदा उत्पादित तरकारी खेतबारीमै सुक्न थालेको छ ।

उत्पादन भएका तरकारी बजारसम्म पु¥याउने साधनको अभाव, बाहिरका व्यापारी खेतबारीमा नआउनेलगायतका समस्याका कारण तरकारी उत्पादक किसान मारमा परेका हुन् ।

उत्पादन गरेको तरकारीहरु खेतबारीमै कुहिन थालेपछि तरकारी खेतीबाट जीविका चलाइरहेका कविलासी नगरपालिका–९ सलेमपुरका किसान जोगी महतोले घरपरिवार चलाउन समस्या शुरु भएको बताएका छन् ।

उत्पादित तरकारी बिक्रीका लागि बजारसम्म लान नसकेकाले पशुचौपायालाई खुवाउनुपरेको तरकारी उत्पादक किसान महतोले बताएका छन् ।

साहुसँग केही पैसा ब्याजमा लिएर शुरु गरेको तरकारी खेतीबाट आम्दानी हुनुको साटो साहुको ब्याज तिर्नसमेत नसक्ने अवस्था सिर्जना भएको सलेमपुरकै अर्का तरकारी उत्पादक किसान ठगा रायले गुनासो छ ।

व्यावसायिकरूपमा लगाएको तरकारी बाली जिल्ला सदरमुकामलगायत जिल्लाभन्दा बाहिर व्यापारीलाई सम्पर्क गरेर पठाउने गरेको भए पनि लकडाउनका कारण व्यापार व्यवसाय पनि बन्द र ढुवानी गर्ने सवारी साधन पनि बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी त्यसै खेर गएको छ ।

बजार बन्द भएपछि बोडी, लौका, भिन्डी, घिरौला, रामझिङ्गनी, भान्टा, काँक्रो, करेला, विभिन्न किसिमका हरिया सागका साथै हरियो खुर्सानी, टमाटरलगायतका तरकारी बाली बारीमै कुहिन थालेको छ ।

तरकारी उत्पादनको सिजनमा लकडाउन भएका कारण बीउबिजन तथा मलखाद ल्याउन नसकिएको भन्दै व्यापारीले पनि चर्को शुल्क असुल्ने गरेका हरिवन नगरपालिका–२ का तरकारी उत्पादक किसान रामपुकार महतोले बताउनुभयो ।

तरकारी उत्पादनबाट जीविका चलाउने किसानले उत्पादित तरकारी बिक्री वितरण गर्न नपाएपछि घर खर्च टार्नसमेत समस्या हुन थालेको कृषकको गुनासो छ । दिनरात मेहेनत गरेर उत्पादन गरेको तरकारी बिक्री नभएपछि सस्तोमा दिनुपर्ने र पशुचौपायालाई खुवाउनुपर्ने किसानको गुनासो छ ।

कहिलेकाहीँ केही व्यापारी खेतबारीमा आएर तरकारी लगिहाले पनि उत्पादन धेरै भएको र माग थोरै भएपछि व्यावसायिकरूपमा तरकारी खेती गर्ने किसान थप समस्यामा परेका कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।


ताजा खबर