मेलम्ची खानेपानी : सुरुङ परीक्षणका लागि पानी भर्ने काम सुरु

मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याउने सुरुङ परीक्षणका लागि आजबाट पानी भर्ने काम सुरु गरेको छ ।

खानेपानी मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर सुरुङमा पानी भर्ने काम सुरुभएसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको जनाएको छ ।

खानेपानीमन्त्री विना मगरले लामो समयदेखिको अन्यौल अन्त्य गर्दै परीक्षणका सबै तयारी पूरा गरेर आजबाट सुरुङमा पानी भर्ने काम अहिलेसम्म कै महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

मन्त्री मगरले सुरुङमा पानी पठाएपछि परीक्षणका निश्चित प्रावधिक मापदण्ड पूरा गरेर चाडै नै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने जानकारी दिनुभयो ।

खानेपानी मन्त्रालयका सचिव माधव बेलबासेले २६ किलोमिटर लामो सुरुङमार्गको निर्माण पूरा गरी अस्थायी डाइभर्सनमार्फत सुरुङमा पानी पठाइएको र केही निश्चित प्रक्रिया पूरा हुनासाथ काठमाडौ उपत्यकामा पानी वितरण गर्नका लागि सुन्दरीजलसम्म पानी ल्याउने जानकारी दिनुभयो ।

आयोजनाले सुरुङमा पानी भर्न १५ देखि २० दिन लाग्ने अनुमान गरेको छ । भरिएको सुरुङलाई १० दिनसम्म यथास्थितिमा राखिर थप १० देखि १५ दिन लगाएर खाली गरेपनि थप ७ दिन पूर्ण परीक्षणपछि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न सकिने आयोजनाले जनाएको छ । रासस


ताजा खबर