पोखरा विमानस्थलको ६० प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको छ ।

आयोजना सम्पन्न हुन अब एक वर्ष समय बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको हो ।

२२ अर्ब रुपैयाको लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेकामा हालसम्म दुई हजार ५०० मिटर लामो धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको सिभिलतर्फको काम सम्पन्न भएको छ ।

त्यसैगरी भवन, ह्याङ्गर, पार्किङ, सडक, नालालगायत आयोजनाको हालसम्म समग्रमा ६० प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताउनुभयो ।

टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलान, भवनमा पुग्ने सहायक सडक, कार पार्किङ ढलान, आइसोलेटेड पार्किङ, भवनमा आल्मुनियम प्लेट, टायल राख्ने, सीसा हाल्नेलगायतका काम अहिले जारी रहेको उहाँले जानकारी दिनुभयो । रासस


ताजा खबर