एनआईसी एशियाका आकर्षक कर्जा योजना

एनआईसी एशिया ब्यांकले ‘सुपर चामत्कारिक घर कर्जा, सुपर चामत्कारिक सवारी कर्जा र सुपर चामत्कारिक व्यवसाय कर्जा’ योजना ल्याएको छ।

यस अन्तर्गत ब्यांकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउनेछ र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको छ।

सुपर चामत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरीद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरीद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकले यस योजनाको लाभ लिन सक्नेछन्।

न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम रू.१ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ । जस अन्तर्गत अधिकतम रू.५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ।

यसैगरी सुपर चामत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीका लागि कर्जा प्राप्त गर्न सक्नेछन्।

यस योजनाअन्तर्गत अधिकतम रू. २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुवै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ।

सुपर चामत्कारिक व्यवसाय कर्जा योजनामा उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नेछन् र यस्तो कर्जा सीमा अधिकतम रू. १ करोडसम्म निर्धारण गरिएको छ।

सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप आवश्यक कागजात प्राप्त भए पश्चात् ब्यांकले यी तीन वटा कर्जाबारे ४८ घण्टाभित्र नै निर्णय दिने व्यवस्था गरेको जनाएको छ।


ताजा खबर