चैते धानको उत्पादन बढेपछि कृषक खुशी

 पाल्पामा आधुनिक प्रविधिको प्रयोग र उन्नत जातका बीउबिजनले चैते धानको उत्पादन बढेपछि यहाँका कृषक खुशी भएका छन् ।

यस वर्ष अघिल्ला वर्षको तुलनामा करिब २० मुरी धानको उत्पादन वृद्धि हुने रामपुर नगरपालिका–४ सदावर्तका कृषक विनोद श्रेष्ठ बताउनुभयो । उहाँ वर्षेनी नौ रोपनी क्षेत्रफलमा धान लगाएर ३० देखि ३५ मुरीसम्म उत्पादन लिदै आएकामा यस वर्ष ५५ मुरी उत्पादन हुने अनुमान गर्नुहुन्छ ।

साढे सात रोपनी खेतमा धान लगाउनु भएका अर्का कृषक सुमित्रा थापा यस वर्ष पाँच मुरी बढी धान फलेपछि खुशी हुनुहुन्छ ।

यस वर्ष कृषि ज्ञान केन्द्र पाल्पाले रामपुर नगरपालिका– ४ स्थित तल्लो वडभान क्षेत्रमा चैते धानको पकेट कार्यक्रम सञ्चालन गरेको छ । ज्ञानकेन्द्र र पकेट समितिको १४–१४ लाखमा पकेट कार्यक्रम शुरु गरिएको थियो ।

दुई सय दुई रोपनी क्षेत्रफलमा २८ घरधुरीका कृषकले धान खेती गरेका छन् । ती कृषकलाई चार मिनिटिलर, दुई वटा पावर टिलर, दुई वटा रोटाभेटर, चार वटा धान काट्ने मेशिन, बेल्चा, गैटी, धान काट्ने दतिया, मल बीउबिजनलगायतका सामग्री प्रदान गरिएको समितिका अध्यक्ष ओमबहादुर रानाले जानकारी दिनुभयो । रासस


ताजा खबर