पत्रकारिताका आरोह अबरोह : पुनम पौडेलको अनुभव

रेडियोदेखि टेलिभिजन, सरकारीदेखि निजी। सबै प्रकारका सञ्चारमाध्यममा काम गरिन् पुनम पौडेलले । तर बिनायोजना, न पत्रकारिता पढ्ने योजना थियो न त पत्रकार हुने शोख नै ! सजिलो ‘फ्याकल्टी’ खोज्दा मानविकीमा पुगिन् । नयाँ विषय देखेर पत्रकारिता रोजिन् । नेफेजले आग्रह गरेको तालिममा कलेजले पठाइदियो । नछानोस् भन्ने मनको चाहनाविपरीत छानिइन् । रेडियो रिपोर्टको बाटो हुँदै रेडियो नेपालको यात्रा तय भयो । रेडियो अनुभवले टेलिभिजनको ढोका खोल्यो । र, त्यतै रमाइन् पुनम जिन्दगीका दुई दशक । कहिले तीता अनुभव कहिले मीठा अनुभव । कहिलेको हाँसो त कहिलेको असन्तुष्टिको अनुभव उनले केही दिनअगाडि  हामीसँग साटिन् । 

०६१ भदौ १६ मा इराकमा १२ नेपालीको घाँटी रेटेर हत्या भयो । विरोधमा काठमाडौंका अधिकांश म्यानपावरमाथि ढुङ्गामुढा तथा आगजनी भयो । पुनम (पौडेल) पत्रकार । यस्तो बेलामा घर बसेर रमिता हेर्ने कुरै भएन । बुवालाई भनिन्, “मलाई अफिस पुर्‍याइदिनुस् ।”

बुवाले मोटरसाइकलमा राखेर चोरबाटो त्यो पनि ‘बिरामी’ भन्दै सातदोबाटोबाट कोटेश्वरसम्म ल्याइदिए । त्यहाँबाट पुनम कान्तिपुर टेलिभिजनको कार्यालय पुगिन् ।

समाचार बुलेटिन तयार पार्न थालेकी थिइन् । म्यानपावर तोडफोड तथा आगजनी गर्दै हिँडेको भीड अचानक कान्तिपुर टेलिभिजनभित्र पस्यो ।

को–कहाँ छ ? थाहा छैन । बुलेटिन अनएयर हुन्छ कि हुँदैन ? पत्तो छैन । सबै हतास् । तर पनि पुनमले काम छोडिनन् । घरी एउटा झ्यालमा ढुङ्गा बज्रिन्थ्यो घरी अर्को झ्यालमा । टेबुलमुनि छिर्दै–निस्कँदै समाचार तयार पारिरहेकी थिइन् उनी ।

१२ बजेको बुलेटिन विजय पौडेलको जिम्मामा थियो । प्रोड्युसर पुनम थिइन् । न समाचार कोअर्डिनेटर न डेपुटी कोअर्डिनेटर !पुनमले विजयलाई भनिन्, “अवस्था यस्तो छ । जुनसुकै बेला जेसुकै हुनसक्छ । बुलेटिन त पठाउनैपर्‍यो । तर चनाखो हुनु है ।

विजय स्टुडियो प्रवेश गरे । हेडलाइन बज्यो । हेडलाइन पनि ब्रेक बज्थ्यो । बुलेटिन सुरुभयो । विजय समाचार पढिरहेका थिए ।

पुनमको कानमा एउटा आवाज ठोक्कियो, “आयो…, आयो…।”

पुनमले विजयलाई भनिन्, “विजयजी तपाईं उठिहाल्नुस् । हामी बुलेटिन बन्द गर्छौं ।”

झ्याप्पै क्यामेरा काटियो । स्क्रिन पूरै ब्ल्याक भयो ।

को आयो, कहाँ आयो थाहा छैन । गर्ने के ?

भाग्नुको विकल्प छैन । इन्जिनियर पनि त्यो बेला लेडिज नै थिइन् । अरु भाग्दै थिए । उनी भने सामान हराउला भनेर ढोकामा ताल्चा पो लगाइरहेकी थिइन् । उनीहरु कुदेर तलझर्न खोजे, तर हुल त त्यतैतर्फ पो आइरहेको रहेछ ! फर्किए । क्यामेराम्यानले भने, “यो ढोका तोडेर तल गयो भने बाहिर निस्किने ठाउँ छ । हानौं ।”

फिल्मीशैलीमा एक लात्ती हाने । ढोका उछिट्टियो । तल झर्दै गर्दा देखियो– पार्किङ गरेर राखिएका गाडी हुरहुरी बलिरहेका । हातमा रड र लाठी बोकेका मान्छेहरु उभिइरहेका छन् । नाराबाजी गरिरहेका छन् । त्यहाँबाट पनि फर्किएर माथि उक्लिए उनीहरु ।

सँगैको घरको पर्खालबाट हामफालेर अर्को घरको कम्पाउन्डमा ओर्लिए । “चप्पल, जुत्ता खोल्दै, हामफाल्दै हामी कान्तिपुरको बिल्डिङबाट निस्किएर नजिकै रहेको साथीको कोठातर्फ लाग्यौं,” पुनम अत्यासपूर्ण त्यो क्षण सम्झिन्छिन् ।

“ओई समाचार पढ्ने केटी होइन त्यो ? हेर त खाली खुट्टा हिँडिराछ,” बाटोमा कसैले भन्यो ।

हँ ! यसो खुट्टातिर हेर्दा चप्पल त छैन । खुट्टा खाली । खाली खुट्टा नै पुनम साथीको कोठा पुगिन् ।

दुई घण्टापछि फोन आयो । “सबै शान्त भैसक्यो, अफिस आउनू ।”

साथीको बाथरुममा राखेको चप्पल लगाएर उनी अफिस पुगिन् । भन्न थाले, “चार बजेको बुलेटिन प्रोड्युस गर ।”

भय हटेको थिएन । दिमाग स्थिर भइसकेको थिएन । तर मान्नैपर्‍यो । बुलेटिन तयार पारिन् । बज्यो ।

“सात र आठ बजेको बुलेटिन तयार पारेपछि मात्रै जान पाउँछौ ।”

अर्काको अफिस । नमानी सुखै छैन । सात बजेको समाचार तयार पारिन् । पढिन् । आठ बजेको समाचार पढिन् । घर जानुपर्‍यो । तर गाडी त सबै जलिसके !

टेलिभिजनको एउटा मात्रै गाडी बचेको रहेछ । कान्तिपुर पत्रिका र टेलिभिजनका स्टाफ त्यसैमा जानुपर्ने । कोचाकोच बसे । कर्फ्यू लागेको थियो । सबैलाई घरघरमा छोड्दिनुपर्ने । सबैलाई छोड्दा पुनमको पालो आयो अन्तिममा ।

ग्वार्को हुँदै रिङरोड निस्किएर घर पुग्दा रातको १२ बजेको थियो । गाडीमा ड्राइभर र पुनम । रिङ्रोडभरि आर्मीमात्रै । दिउँसोको भीड, आगो, नाराबाजी र घरघर हामफालेर भागेको क्षण र दृश्य आँखामा नाच्थ्यो । पुनम झस्किन्थिन् । तर पनि यो महिला हो, बिहानदेखिको दौडधुप उसलाई पहिला छोड्दिउँ कसैले भनेन !

“दरबार हत्यकाण्ड भयो । म पत्रकारितामै थिएँ । दिनकै ब्लास्ट हुन्थ्यो । फिल्डमै पुगेर रिपोर्टिङ गर्थें । ०६२/६३ को आन्दोलन भयो । मलाई डर लागेको थिएन । तर मलाई पहिलोपटक त्यो दिन डर लाग्यो । आफू असुरक्षित भएको महसुसभयो,” उनी तीतो अनुभव सुनाउँछिन्, “अचम्म, जसको त्यो दिन ड्युटी नै थिएन, अफिस आएकै थिएनन् । टाउकामा चोट लाग्यो भनेर उनीहरुले पो पत्रिकामा लामालामा आर्टिकल लेखे ! ज्यान जोखिममा राखेर बिहानबाट रातिसम्म काम गर्ने हामी क्रेडिट लिनेचाहिँ अफिसमा आउँदै नआएको व्यक्ति! मलाई साँच्चैै अचम्म लाग्यो । जो अफिस आएकै थिएन, उसले मलाई निधारमा ढुङ्गाले लाग्यो भनेर सिम्प्याथी लिएको देखेँ ।”

० ० ०

काङ्ग्रेस पार्टी कार्यालय सानेपामा छलफल थियो । समाचार सङ्कलनका लागि पुनम गएकी थिइन् । उनलाई त्यहीँ खबर गयो, माओवादीले कलङ्कीमा बम पड्काए रे ! रिपोर्टिङ गर्न जाऊ ।

माओवादी आन्दोलनको प्रभाव काठमाडौंमा पनि पर्न थालेको थियो । माओवादी काठमाडौं छिरेका थिए । उनी क्यामेराम्यानलाई लिएर त्यतैतर्फ दौडिइन् । त्यहाँको रिपोर्टिङ सकिन नपाउँदै फेरि फोन आयो । खबर थियो– हाँडीगाउँमा बम पड्किएको । त्यहीँ पुगिन् । त्यहाँको रिपोर्टिङ नसकिँदै खबर आयो– भेडासिङमा त पुलिसकै ज्यान गयो रे ! त्यतै दौडिइन् पुनम । तीन ठाउँमा एकै दिन ब्लास्ट भयो । पुनमले रिपोर्टिङ गरिन् । पहिलो पटक थियो उनले ब्लास्टमा रगतसहितको तितरवितरको अवस्था, कोकोहोलो र तनाव देखेको । क्रन्दन र हतासहतास आँखा देखेको ।

साँझका लागि समाचार कम्पाइल गरिन् । र, घर गइन् उनी । साँझको समाचार बुलेटिनमा फुलप्याकेजका रुपमा एउटा रिपोर्ट बज्यो । विद्यार्थीको मृत्यु भएको घटनाबाट रिपोर्ट उठान गरिएको थियो । घटना त्यही थियो । सूचना त्यही थियो । फुटेज त्यही थियो । तर अचम्म !

के ?

त्यो रिपोर्टमा पुनम कतै उल्लेख थिइनन् । कतै दिइएन उनलाई क्रेडिट । सूचना त अर्कैले आफ्नै एकलौटी पो बनाइसकेछन् !

मन दुख्यो । तीतो अनुभव सँगाल्नुपर्‍यो । खोइ मेरो नाम उनी भन्न त सक्थिन् । तर भनिनन् । चुपचाप बसिन् ।

० ० ०

लामो करिअर थुप्रै अनुभव ।अझ त्यसमा पनि नयाँ प्रविधिमा अनुभव पनि नयाँ । टेलिभिजन भर्खरभर्खर सुरुआतको समय थियो ।

माओवादी वार्तामा आएको थियो । नेपाल टेलिभिजनभन्दा नयाँ गर्ने ध्याउन्नमा थियो कान्तिपुर । समाचारकै बीचमा अन्तरवार्ता गर्ने तय भयो । माओवादी भर्खर वार्तामा आएको थियो । विषय त्यही थियो । पात्र थिए चारजना । एक, नारायणसिंह पुन दुई, नरहरि आचार्य बाँकी दुई को थिए ? पुनमले बिर्सिइन् ।

तर उनलाई याद छ, चारैजना एकैपटक आएका थिएनन् । चार जनासँग कुरा गर्दैछौं भनेर सुरुमै एनाउन्स गरेर समाचार पढिरहेकी थिइन् । जोजो आउँछन् उनीहरुसँग अन्तरवार्ता गरिरहेकी थिइन् । “चार जना अतिथि र म एकै साइडमा थियौं । म पालैपालो सोधिरहेको थिएँ,” पुनम सुनाउँछिन्, “अरुलाई प्रश्न गर्दा नरहरिजीले मलाई तन्किएर हेरिरहनुहुन्थ्यो । उहाँको हेराइको अर्थ मैले लगाएको थिएँ । यसले राजनीति कति बुझेकी होली ?”

नेपालको टेलिभिजन इतिहासमा समाचार बुलेटिनमा चार जना अतिथि राखेर समाचारमा अन्तरवार्ता गरेको त्यो नै पहिलोपटक थियो भन्ने उनको ठहर छ ।

० ० ०

एमाले नेता ईश्वर पोखरेल पुनमका साख्यै मामा । तर कयौं पटक उनले अन्तरवार्ता लिएकी छन् । सकेसम्म उनी तर्किन खोज्थिन् । तर सधैं कहाँ पाइन्थ्यो र फुत्किन ! कयौं पटक लिएकी छन् उनले लाइभ अन्तरवार्ता आफ्नै मामा भए पनि ।

अरुबेला मामा भने पनि अन्तरवार्तामा भन्न नपाइने ।  कान्तिपुरमा काम गर्दा ईश्वर पोखरेल आउँदा उनी स्टुडियो पसिसकेकी हुन्थिन् । “लाइभमा भएकाले इन्फरमल कुरा हुन पाउँदैनथ्यो । पार्टीको पद पछाडि ‘ज्यू’ लगाएर सम्बोधन गरेरप्रश्न गर्थें । म समाचार पढेर निस्किँदा उहाँ गइसकेको हुनुहुन्थ्यो,” पुनम सुनाउँछिन्, “तर कन्ट्रोलरुममा बसेका साथीहरु मामालाई ज्यू ? कस्तो भाञ्जी भनेर जिस्काउँथे । हाँसो कन्ट्रोल गर्नै गाह्रो हुन्थ्यो !”

० ० ०

रेडियो नेपालमा सबै अग्रज । २५/३० वर्ष समाचार पढेका कमल प्रधान, माइकल चन्द, ध्रुव थापा, गोपाल बस्न्यातलगायत थिए । पुनम त सिकारु त्यसमा पनि महिला । एउटा कुनामा बस्यो । अह्राएको काम गर्यो । बिहान पत्रपत्रिका र समाचार पढ्यो, बस्यो ।

संविधान दिवसको दिन थियो । दरबारको सन्देश आएको थियो । विहान सात बजेको मुख्य समाचारमा पढियो । सात बजेको समाचारपछि पुनमलाई छोडेर सबै चिया खान गए ।

आठ बजेको समाचार वाचन भइरहेको थियो । फोन आयो । फोन रहेछ दरबारको सचिवको । उनले भने, “सरकार (राजा)को सन्देश किन एडिट गरेको ?”

पुनमः हैन हामीले त सबै पढेको थियो त ।

सचिवः हैन । अहिले आठ बजेको समाचारमा एडिट गरेर गयो । सरकारले सुन्ने अङ्ग्रेजीमा हो । सरकारले चित्त दुःखाइबक्सेको छ ।

पुनमः सरहरु इमरजेन्सी मिटिङमा हुनुहुन्छ । सकिएपछि म खबर गर्छु ।

पुनम दौडिएर बोलाउन गइन् । हस्याङफस्याङ गर्दै सबै आए । तर आउँदा त अङ्ग्रेजी समाचार पढ्ने समाचार सकेर अफिसबाट निस्किसकेछन् ।

इमरजेन्सी मिटिङ बस्यो । अङ्ग्रेजी समाचार पढ्नेलाई बोलाइयो । र, नौ बजेको समाचारपछि राजाले पठाएको सन्देश जस्ताको तस्तै पुनः पढियो ।

० ० ० 

अर्को रमाइलो घटना पनि पुनमको सम्झनाबाट ओझेल परेको छैन । विहान सात बजेको मुख्य बुलेटिनपछि पुनमलाई फोन उठाउन लगाउँथे । अग्रजले भनेको मान्नैपर्‍यो । समाचारका लागि सूचना भए समचार लेखनको अभ्यास पनि हुन्छ । ठीकै पनि लाग्थ्यो ।

एक दिन उनलाई फोनमा एकजनाले भने, “म कृष्णप्रसाद भट्टराई, लेख्नुस् मैले दुईजना मन्त्री थपेँ ।”

पुनमलाई लाग्यो– कोही जिस्किरहेको छ मसँग । उनले रिसिभर साइड लगाएर एक हातले छोपिन् र भनिन्, “दाइ को हो मलाई यसो… भनिरहेको छ ।”

“हो प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नै हो । उहाँ यस्तै हो । आफैं फोन गर्नुहुन्छ ।”

बल्ल एटेन्सन दिइन् पुनमले प्रधानमन्त्रीलाई ।

० ० ०

रेडियो नेपालसँग जोडिएका थुप्रै घटना छन् मस्तिष्कमा । तर केही यस्ता पनि घटना, जो सायद कहिल्यै बिर्सिन्नन् पुनम ।

दरबार हत्याकाण्डको हल्ला साँझ नै सुनियो । रेडियो जाऊँ कि नजाऊँ भयो । सोचिन्, पत्रकारले काम गर्ने नै यस्तै बेलामा त हो । त्यसमा पनि म त भर्खरभर्खर सुरु गर्दैछु, सिक्ने नै यस्तै बेलामा हो ।

विहान रेडियो नेपाल पुग्दा उनले त अनौठो दृश्य पो देखिन्, समाचार कक्षमा । सबै बसेका । तर कोही पनि एकअर्कासँग नबोलेका । मुर्दाशान्ति थियो समाचारकक्षमा । नेपाल टेलिभिजनका विहानी समाचार सेवा प्रमुख मनोहरि थापा पनि रेडियोमा आएर पुर्पुरोमाहात लगाएर बसिरहेका थिए ।

के गर्ने ? अन्योल थियो । पुनम पनि एउटा छेउमा गएर चुपचाप बसिन् ।

एकछिनपछि सेनाको कोही सिनियर आएर भने– न्युजचिफ को हो ?

लिएर अर्को कोठामा गए । एकछिनमा आएर उनले भने, “लेडिज स्टाफ जति सबैलाई घर पठाइदिनू ।”

“यस्तो अवस्थामा के हुन्छ, के गर्छन् ? मनमा असङ्ख्य प्रश्न थिए । तर घर जाऊ भने । नाइँभन्न सक्ने आँटै थिएन । गाडीमा हालेर लेडिज स्टाफलाई घर पठाइदिए,” आज पनि त्यो घटना सुनाउँदा पुनमको मन अमिलो हुन्छ, “तिमी त रेडियोमा काम गर्ने मान्छे, के भको हो ? अब के हुन्छ ? सोध्थे । तर आफैंलाई थाहा नहुँदा भन्नै पाइएन ।”

अर्कोदिनबाट नियमित काम सुरु भयो । ज्ञानेन्द्रको राज्यारोहणमा शुभकामना पढेर वीरेन्द्रको स्वर्गारोहणमा दुःख व्यक्तको समाचार एउटै बुलेटिनमा पढ्नुपथ्र्यो । वीरेन्द्रको नाममा ज्ञानेन्द्र र ज्ञानेन्द्रको नाममा वीरेन्द्रको नाम पो पढिने हो कि भन्ने तनावले पुनमको मथिङ्गल हल्लाउँथ्यो ।

धन्न त्यस्तोचाहिँ भएन ।

० ० ०
कान्तिपुर टेलिभिजन अनएयरको पहिलो दिन थियो । तत्कालीन युवराज पारस शाहले उद्घाटन गर्ने कार्यक्रम थियो । ट्रान्समिसन अन भइसकेको थियो । पुनम स्टुडियोबाट लाइभ गरिरहेकी थिइन् । पहिलो दिन सबै नयाँ, सबै सिकारु । मनिटरले काम गरिरहेको थिएन । बाहिर के भइरहेको छ ? उनले देखिरहेकी थिइनन् ।

के बोल्ने ? के भन्ने ? भइरहेको थियो । तर पनि उनी बोलिरहेकी थिइन् । अचानक युवराज पारस स्टुडियोभित्र प्रवेश गरे ।

हँँ ! बोलिरहने कि, उठेर युवराजलाई नमस्कार गर्ने ? अन्योल भयो ।

यति ठूलो च्यानल आरम्भ भइरहेको थियो । नेपाल टेलिभिजनभन्दा फरक गर्ने योजना थियो । तर न एउटा कुनै तालिम दिइएको थियो न कुनै आइडिया नै !

पछि उनले थाहा पाइन्, रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेको अनुभव भएकाले दरबारका व्यक्ति र प्रसङ्गमा सम्बोधन गर्दा बक्सियोस्जस्ता शब्द चयन र प्रयोगमा सहजता होस् भनेर उनलाई लाइभको जिम्मा दिइएको थियो ।

० ० ०

गणितमा कमजोर भएपछि परिवारलाई एउटै चिन्ता थियो–एसएलसीमा यस(पुनम)लाई कसरी उम्काउने । ‘म्याथमा यस्तो कमजोर छे । यसले के गर्छे, एसएलसी त कटाउँदिन होला,’ पुनमको भविष्यलाई लिएर परिवारलाई चिन्ता थियो ।

तर उम्किइन् एसएलसीबाट । गणित केमा पढ्नुपर्दैन ? मानविकीमा । रत्नराज्यलक्ष्मी क्याम्पस गइन् । फर्म भर्न । यसो हेरिन्– नेपाली, अङ्ग्रेजी, मनोविज्ञान, पत्रकारिता आदि ।

पत्रकारिता ! पुनमले सोधिन्– यो विषय पनि ‘चुज’ गर्न मिल्ने हो ?

“ल किन नमिल्नु ? यहाँको मुख्य विषय नै यही त हो ।”

मनोविज्ञान, अङ्ग्रेजी र पत्रकारिता लिइन् । प्रवीणता प्रमाणपत्र तहमा बल्लतल्ल पास गरिन् पत्रकारिता । तर उनले बीएमा मनोविज्ञान छोडेर बाँकी दुईलाई निरन्तरता दिइन् । पत्रकार बन्ने रहर थिएन । मनोविज्ञान छोडेर पत्रकाारिता नै किन रोजिन् पुनमसँग अहिले पनि जवाफ छैन । पत्रकारिताको तेस्रो वर्षमा इन्टर्नसिप गर्न गइन्, ‘सुरुचि’ साप्ताहिक ।

‘सुरुचि’मा के लेखिन्, कसरी लेखिन् उनलाई खासै याद छैन । उनलाई पास हुनुमात्रै थियो ।विधि सम्झिएर गरिन् सायद ।

बीएको अन्तिम वर्ष थियो । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले दुईजना महिला विद्यार्थीलाई ‘रेडियो प्रोग्राम प्रोडक्सन’को तालिमका लागि पठाइदिन कलेजलाई भनेछ । कलेजमा पुनमको ‘ब्याच’मा जम्मा दुईजना थिए छात्रा । पुनम र हेमलता राई । दुवैजना गए । भ्वाइस टेस्ट भयो ।

“फाइनल इयरको एक्जाम हुन लागेको छ । १० दिनको तालिममा बस्यो भने त पढाइ चौपट हुन्छ । रिजेक्ट गरिदिए हुन्थ्यो भन्दै गएर भ्वाइस टेस्ट दियौं । तर घर पुग्दानपुग्दै तालिमका लागि छनोट हुुनुभयो आउनुस् भन्ने फोन पो आयो,” पहिलो मिडिया ट्रेनिङको अनुभव सम्झिन्छिन् पुनम ।

तालिममा थिए– तीर्थ कोइराला, राजेश कोइराला, मुरारि शिवाकोटी, सङ्गीता लामालगायत ।

नेफेजले ‘वातावरण’ नामक कार्यक्रम चलाउँथ्यो रेडियो नेपालमा । तालिम लिएको भनेर उनीहरुलाई नेफेजले रिपोर्ट बनाउन लगायो । करिब १० वटा रेडियो रिपोर्ट तयार पारिन् उनले । पत्रकारिताको सुरुआती काम त्यही थियो पुनमको मिडिया करिअरमा (२०५३)।

रेडियो सगरमाथाका लागि जनशक्ति तयार पार्ने उद्देश्यले दिइएको तालिम थियो त्यो । तर इजाजतको प्रक्रिया लम्बिएकाले रेडियो प्रशारण हुन सकिरहेको थिएन ।

फेरि नेफेजले पानस लन्डनसँगको सहकार्यमा फेलोसिप आह्वान गर्‍यो । ‘कृषिमा विषादीको प्रयोग र यसका विकल्प’ शीर्षकको उक्त फेलोसिपमा ६ जना छनोट हुँदा पुनम पनि परिन् ।

फिल्ड भिजिट गरेर रिपोर्ट तयार पारिन् । तर सगरमाथा रेडियो अझै खुलेन ।

फेरि अर्को फेलोसिप आयो । शीर्षक थियो–‘काठमाडौं उपत्यकाको खानेपानी र वितरणको गुणस्तर ।’

अनुसन्धानमा आधारित रिपोर्ट तयार भयो । तर रेडियो सगरमाथा खुलेन । यहीबीचमा उनले नेपाल टेलिभिजनमा ‘प्रोगाम प्रोडक्सन’को दुईमहिने तालिम लिइसकेकी थिइन् । त्यहीबेला उनले थाहा पाइन्–रेडियो नेपालमा समाचार शाखामा मान्छे चाहिएको छ । आवेदन दिइन् । पास भइन् । सुरुका दिनमा जिल्ला समाचार वाचन गरिन् । स्वर माझिँदै गयो । पत्रपत्रिका पढ्न थालिन् । कोहीकोही भन्थे ‘कस्तो बच्चाको जस्तो स्वर ।’ कोहीचाहिँ भन्थे, ‘स्वर सानो भए पनि बुझेर पढेजस्तो सुनिन्छ ।’

अभ्यासले पूर्ण बनाउँदै लग्यो । विहान सातबजेको मुख्य बुलेटिन पनि पढ्न थालिन् । समाचार नै उनको संसार थियो ।

रेडियो नेपालमा चार वर्ष काम गरेपछि नेपाल टेलिभिजनमा ‘अन द जब ट्रेनिङ’ माग्यो । फर्म भरिन् । पास भइन् । विहान रेडियो नेपालमा, दिउँसो नेपाल टेलिभिनमा काम गर्न थालिन् । नेपाल टेलिभिजनमा रिपोर्टर र डेस्क एडिटरका रुपमा काम गरिन् डेढ वर्ष । नेपाल टेलिभिजनमा त्यो समय पुनम एक्लो महिला रिपोर्टर थिइन् । त्यसअघि रिता गुरुङ थिइन् ।तर पुनम जाँदा उनी थिइनन् ।

रिपोर्टिङ तथा अन्तरवार्तामा जाँदा पुनमलाई देखेर भन्थे, “पत्रकार ? महिला ? हेरहेर विचरा ! यस्तो घाममा, अफिसमा बस्न छोडेर कहाँ दौडिएको ? स्टुडियाोमा बसेर समाचार पढ्नु नि नानी !” त्यसो भनेपछि पुनम आत्तिन्थिन् । के गर्न आएको भन्ने नै कन्फ्युज हुन्थ्यो उनलाई ।

मरेको चरालाई ज्युँदो झैं सजाएर राख्ने (टक्सीडर्मी) चरा विज्ञ गोविन्दबहादुर गुरुङबारे थाहा पाएपछि पुनम र हेमलता उनको अन्तरवार्ता लिन घरमै पुगे ।

गोविन्दले बोलाएकै समय विहान उनीहरु घट्टेकुलोस्थित उनको घर पुगे । बाहिरै भेटिइन् उनकी श्रीमती । सोधिन्– को हो किन आको ?
पुनम र हेमलताले भने, “अन्तरवार्ता लिन आको ।”

“केको अन्तरवार्ता, किन अन्तरवार्ता, अन्तरवार्ता दिएर के हुन्छ ? परेको छैन यस्ता अन्तरवार्ता दिन,” भन्दै डिङ्ग्री र मुङ्ग्री गरिन् । पहिलोपटक अन्तरवार्ता लिन गएका उनीहरु डरले थरथर भए । “घट्टेकुलोबाट भागेर हामी डरले स्याँस्याँ गर्दै पुतलीसडकको मोडमा गएर रोकियौं,” पुनम पहिलो अन्तरवार्ताको असफल प्रयास सुनाउँदै हाँस्छिन् । त्यसपछि पुनमले अर्कै चराविज्ञको अन्तरवार्ता लिइन् ।

० ० ०

रेडियो नेपालमा पाँच वर्ष र नेपाल टेलिभिजनमा डेढ वर्ष काम गरेपछि दुवै संस्थामा स्थायीका लागि आवेदन आह्वान भयो । उनले परीक्षा दिइन् । दुवैमा लिखितमा नाम निस्कियो । तर उनले अन्तरवार्ता दिइनन् ।

कारण ?

कान्तिपुर टेलिभिजन खुल्दै थियो ।

ठूलो लगानीमा आउँदैछ । नयाँ तरिकाले, नयाँ पुस्ताले राम्रो गर्ने हो भने उपयुक्त ठाउँ । रेडियो टेलिभिजन (अडियो भिडियो) दुवैको अनुभव छ, सरकारीभन्दा राम्रो हुन्छ भने । उनले पनि विश्वास गरिन् ।
करिबकरिब स्थायी भइसकेको रेडियो र नेपाल टेलिभिजनको जागिर छोडेर गइन् पुनम कान्तिपुर टेलिभिजन ।

सबै नयाँ, सबै आलाकाँचा के गर्ने ? कसरी गर्ने ? अनुभवी व्यक्तिको खाँचो थियो । कसलाई के पोस्ट दिने भन्नेमा पनि अन्योल । सम्पादक भइसकेकी पुनमले उप–सम्पादकमा चित्त बुझाइन् ।

पुनमका बुवा मनुप्रसाद(पौडेल) न्यायाधीश थिए । छोरी सरकारी सेवामा नै बसिदिए हुन्थ्यो भन्ने उनको चाहना थियो । “सरकारी सेवामा प्रवेश गरेर परराष्ट्रतर्फ जाओस् भन्ने बुवाको इच्छा थियो । त्यसैले रेडियो र नेपाल टेलिभिजन छोडेको उहाँलाई मन पर्दैन भनेर मैले कान्तिपुर गएको कुरा चार महिनासम्म लुकाएँ,” पुनमले सुनाइन्, “छोरी तिमी किन अचेल समाचार पढ्दिनौ भन्नुहुन्थ्यो । तर म भने खोइ अहिले नयाँलाई नदिएर पुरानाले मात्रै पढिरहेका छन् भन्थेँ । तर उहाँ पत्याउनुहुन्नथ्यो । पढिसकेको मान्छेलाई पनि नदिने भन्ने हुन्छ भन्नुहुन्थ्यो ।”

० ० ०

कान्तिपुर टेलिभिजनमा अलग गर्ने तर के गर्ने ? निधो भइसकेको थिएन । कान्तिपुर टेलिभिजनमा गर्दै–सिक्दै र नयाँ प्रयोग गर्दै गएको सम्झना छ पुनमलाई ।

फरक गर्ने भन्ने, तर कसरी ? साडी लगाएर समाचार पढ्ने भनियो । तर उनले भनिन्– साडी नै किन ?अरु ड्रेसमा पनि स्मार्ट देखिन्छ । त्यस्तै भयो । थुप्रै नयाँ आइडिया उनकै हुन् कान्तिपुरमा ।

तर पनि महिला भएकै कारण केही तीता अनुभव उनले सँगालिन् । सुरुबाट गरेको योगदान क्रमशः बिर्सिंदै गइयो । बिनाअनुभव र क्वालिटीका उनीभन्दा जुनियरहरु कहिले सिनियर बनाइन्थे पत्तै हुँदैनथ्यो । पुनमसँग सरोकार राख्ने विषय उनी त्यहीँ हुँदाहुँदै जानकारी नै नभएको अर्को व्यक्तिलाई सोध्थे । ‘‘निर्णय प्रक्रियामा बाइपास गरिन्थ्यो,” कार्यक्षेत्रमा लैङ्गिकताकै आधारमा हुने विभेद महसुस गरिन् पुनमले, “समाचार प्रमुख र म्यानेजमेन्ट बसेर परिवर्तनको खाका तयार पार्थे । भोलिपल्ट अफिस पुग्दा नयाँ स्टुडियोमा सेट लागिसकेको हुन्थ्यो । बसेर पढिरहेको समाचार उठेर पढ्ने तयारी भइसकेको हुन्थ्यो । तर हामीलाई थाहै हुँदैनथ्यो । स्क्रिनमा देखिने हामी, बिग्रिए गाली खानेहामी,जानकारबिहीन हुनुपर्ने पनि हामी नै !”

आवाज त पुनम उठाउँथिन् । समस्या भयो, दोहोरिँदैन भन्थे । तर पुनमले १५ वर्षसम्म कहिल्यै अनुभव गर्न पाइनन् । केही भन्यो भने व्यङ्ग्य गर्थे, “यो नेपाल टेलिभिजन हैन ।”

० ० ०

रेडियोमा काम गर्दागर्दै एफएमको अनुभव पनि सँगालिन् उनले । एचबीसीमा समाचार सुरु गर्ने पुनम नै हुन् ।

साप्ताहिक र दैनिक दुवै समाचार एचबीसीमा उनैले सुरु गरेकी हुन् । “मैले पहिलोपटक समाचार पनि रेकर्ड गरेर प्रशारण गरेको अनुभव त्यही सँगालेँ,” आज पनि रेकर्डेड समाचारको प्रसङ्ग सुनाउँदा उनको मुहारमा आश्चर्य उसैगरी देखा पर्छ ।

० ० ०

कान्तिपुर छोडेपछि पुनम पुगिन् अमेरिका । ठूलो लगानीमा विश्वका ८ वटा देशमा अमेरिकाबाट अनलाइन लन्च हुनेभयो । त्यसको अडियो भिजुअलको जिम्मा पुनमलाई दिइयो । उक्त अनलाइन (ब्रेकएनलिङ्क्सडटकम)को अडियो भिजुअलको सुरुआती रणनीतिक योजना र आइडिया उनैले बनाइन् ।


ताजा खबर