अमेरिका मानव स्वतन्त्रताको रक्षामा स्वदेश र विदेशमा निरन्तर स्पष्ट रहनेछ।  

  •  र्‍यान्डी बेरी

सास फेर्न गाह्रो भई स्वाँ-स्वाँ गरिरहेका जर्ज फ्लोइडको भिडियोले नेपाल, अमेरिकासहित विश्वभरका थुप्रै जनालाई जस्तै मलाई पनि स्तब्ध बनायो। जुन घटनामा चार प्रहरीले फ्लोइडको अधिकारको हनन गर्दै थिए र एक जनाको घुँडाले उनको घाँटीमा कसिलो गरी थिचेको थियो।

फ्लोइडको मृत्युबाट उत्पन्न विरोध तथा हिंसाका दृश्यहरूबाट उक्त स्तब्धताको मात्र बढेको छ । तिनले विगत वर्षमा अश्वेत अमेरिकी नागरिकका हत्या शृङ्खलाप्रति अमेरिकाको आक्रोश प्रतिविम्बित पनि गरेका छन् । यी घटना अमेरिकी नागरिकका निम्ति अत्यन्त झस्काउने किसिमका छन्।

हामी सबै समान रूपमा सृष्टि भएका हौं र जीवन, स्वतन्त्रता तथा खुशीको खोजीका अपरिहार्य अधिकार प्रदत्त छौं भन्ने हाम्रा मूल्य तथा संस्थापक मान्यताहरूमा खरो उत्रन अझै धेरै काम गर्न बाँकी छ भनेर हालैका दिनहरूले उदाङ्गो पारिदिएका छन्।

हामीले मुलुकमा त्यस्तो प्रयास हुँदै गर्दा अरू देशमा भएका मानवअधिकारका उल्लङ्घनका विषयमा अमेरिका ‘चुप’ लाग्नुपर्ने केहीले बताएका छन् । यी मानिसले गलत बुझेका छन्:  हामी पूर्ण छौं भन्ने सोचेर होइन, पूर्ण छैनौं भन्ने थाहा भएका कारण हामी अमेरिकी मुखर छौं । हामीले आफ्नै अनुभवबाट जानेका छौं, स्वतन्त्रताका लागि गरिने सङ्घर्ष एक्लै अगाडि बढाउन सकिंदैन । अमेरिकाका देशभक्तले नेपालका लोकतान्त्रिक कार्यकर्ताले जस्तै विश्वभरका विचार तथा समर्थनबाट लाभ लिएका छन्।

अमेरिका मुखर छ, किनकि हामीलाई लाग्छ, स्वतन्त्र मानिस अरूका अधिकार तथा स्वतन्त्रताका पक्षमा बोल्न आफ्नै विवेकबाट प्रेरित हुन्छन् । अलाबामाको बर्मिङगमस्थित कारागारबाट मार्टिन लुथर किङ जुनियरले लेखेर अभिव्यक्त गरेकै थिए, “कुनै एक ठाउँको अन्याय अन्य सबै ठाउँको न्यायका निम्ति खतरा हुन्छ… कोही एकलाई प्रत्यक्ष असर गर्नेले सबैलाई अप्रत्यक्ष असर गर्दछ।”

नेपाल र विश्वभरका मानिसले जर्ज फ्लोइडको नाम जान्नु र अमेरिकामा जातिवादको इतिहासबारे थाहा पाउनुको कारण हो, हाम्रा सञ्चारमाध्यम स्वतन्त्र छन् र हामी हाम्रो समाज र हाम्रो सरकारको आलोचना गर्नेहरूको अधिकारको रक्षा गर्छौं। हामी विशेष गरी तिनका अधिकारको सुरक्षा गर्छौं, जो सञ्चारमाध्यम, इन्टरनेट र सडकमा हाम्रो समाज र हाम्रो सरकारको आलोचना गर्छन्।

तसर्थ अमेरिका आफ्नो इतिहास वा हालका चुनौती लुकाएर निश्चिन्त रहँदैन । हामी तिनलाई परीक्षणका लागि लिन्छौं, ता कि अमेरिका र अन्य समाजलाई अगाडि बढाउन र अझ राम्रो भविष्य निर्माण गर्न ती अनुभवको उपयोग गर्न सकौं।

यो मान्यता नेपालीहरूलाई अमेरिकासँग जसरी अन्तरक्रिया गर्न हामी आमन्त्रण गर्दछौं, त्यसमा सबैभन्दा प्रष्ट छ । हामी अमेरिकाको भ्रमण गर्न विविधतापूर्ण समूहहरूलाई आमन्त्रित गर्दछौं, र तिनलाई विविधताका सामु लैजान खोज्छौं, जुन अमेरिकाका शक्ति र आधारशिला हुन् । अमेरिकाको भ्रमण गर्न नेपालीहरूको प्रायोजन गर्दा हामी दलित कार्यकर्ता, मजदूर अगुवा र महिला उद्यमीहरूलाई आमन्त्रित गर्दछौं । हामी उहाँहरूलाई अमेरिकालाई परीक्षण गर्न, हाम्रो सरकारको आलोचना गर्ने हाम्रा मानवअधिकारकर्मीसँग कुराकानी गर्न र अमेरिकाको आत्मसुधारको निरन्तर यात्रा पारदर्शी रुपमा देखाउने नागरिक अधिकारका स्मारकहरू घुम्न प्रोत्साहित गर्दछौं। अमेरिकीहरू आफ्नै इतिहासको अध्ययनबाट अघि बढे जस्तै हामी अरूलाई हाम्रा सफलता र असफलताबाट सिक्न स्वागत गर्दछौं।

नेपाल र विश्वभरका मानिसले जर्ज फ्लोइडको नाम जान्नु र अमेरिकामा जातिवादको इतिहासबारे थाहा पाउनुको कारण हो, हाम्रा सञ्चारमाध्यम स्वतन्त्र छन् र हामी हाम्रो समाज र हाम्रो सरकारको आलोचना गर्नेहरूको अधिकारको रक्षा गर्छौं। हामी विशेष गरी तिनका अधिकारको सुरक्षा गर्छौं, जो सञ्चारमाध्यम, इन्टरनेट र सडकमा हाम्रो समाज र हाम्रो सरकारको आलोचना गर्छन् । शान्तिपूर्ण विरोध गर्नेमाथि आक्रमण गर्नेहरूको विरुद्धमा हामी बोल्छौं र बोलिरहनेछौं,  त्यो चाहे स्वदेशमा होस् या विदेशमा।

अमेरिकामा रहेको जातिवादको भर्त्सना र न्यायको माग गर्नुहोस्, तर यस्तो नेपालमा पनि गर्नुहोस्। दलित, महिला, अल्पसङ्ख्यक जनजाति तथा नेपाल सरकार र नेपाली समाजको विभेदको पाटोमा आलोचना गर्नेहरूका लागि यो आवश्यक छ।

अमेरिकाको जन्म शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रता लगायत नैसर्गिक अधिकारहरूको माग गर्ने आन्दोलनबाट भएको हो । हाम्रो इतिहासभरि नै आफ्ना आदर्शहरूमा सरकार खरो उत्रियोस् भन्ने माग राख्ने  शान्तिपूर्ण विरोधले नै हाम्रो देशलाई अझ सुदृढ बनाएको छ ।

त्यसैले गर्दा हो, एक शताब्दीअघि सेनेका फल्समा निडर महिलाहरूको भेलाले मतदानमा समानताको माग राखेको र त्यो हक हासिल गरेको । त्यसैले गर्दा हो, असमानताको विरोध र न्यायको माग गर्दै सेल्मामा डा. किङसँग जुलुशमा निस्केका पुरुष र महिलाका कारण सन् १९६० को दशकमा बृहत् नागरिक अधिकार कानून ल्याइएको । त्यसैले गर्दा हो, लामो समय बहिष्करणमा परेका लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटी) अमेरिकीहरूले स्टोनवाल इनमा भएको विरोधबाट प्रणालीगत भेदभाव अस्वीकार गरेको र आधुनिक एलजीबीटी अधिकारको आन्दोलनलाई जन्म दिएको। त्यसैले गर्दा हो, आज हामीले फ्लोइडको मृत्युको विरोध, जातिवादको भर्त्सना, र अमेरिकामा न्यायको माग गरेको।

हामीले आफ्नो मुलुकको सुधार गर्ने काम जारी राख्दा अमेरिकी मात्र त्यस्ता अधिकारका हकदार छन् भन्ने सङ्कीर्ण धारणा कहिल्यै राख्नेछैनौं । वास्तवमा यी अधिकारहरू सर्वव्यापी हुन्, न कि राज्यले दिन या नदिन मिल्ने कुनै विषय । अमेरिकामा रहेको जातिवादको भर्त्सना र न्यायको माग गर्नुहोस्, तर यस्तो नेपालमा पनि गर्नुहोस्। दलित, महिला, अल्पसङ्ख्यक जनजाति तथा नेपाल सरकार र नेपाली समाजको विभेदको पाटोमा आलोचना गर्नेहरूका लागि यो आवश्यक छ।

अमेरिका अहिले सङ्घर्षरत छ, तर हाम्रो शक्ति आफैंलाई सुधार गर्ने हाम्रो क्षमतामा निहित छ । अमेरिका यति मजबुत छ, विश्वभर मानव गरिमाको पक्ष लिनेहरूको समर्थन जारी राख्दै देशमा आफैंलाई सुधार गर्न हामी सक्छौं र गर्नेछौं।

नेपाल र अमेरिकामा मात्र होइन, समस्त मानवका पक्षमा बोल्नुहोस्। चाहे जुनसुकै राष्ट्रियता, धर्म, भूगोल होस् वा उनीहरूको जन्म जुनसुकै व्यवस्था अन्तर्गत भएको होस् । बोल्नुहोस् र न्यायको माग तब राख्नुहोस्, जब मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रमा स्थापित ती मौलिक हकहरू आफ्नै नागरिकका आवाजदेखि डराएका विश्वका सरकारहरूबाट कटौती गरिन्छन्। ती अल्पसङ्ख्यक समुदायहरूका पक्षमा बोल्नुहोस्, जसलाई उनीहरूका संस्कृति तथा धार्मिक आस्था राज्यद्वारा ‘सच्याइनुपर्छ’ भनिन्छ । विश्वभरका महिलाका लागि न्याय माग्नुहोस्, जसले आफ्नो कार्यस्थल तथा घरमा असमान व्यवहार, दुर्व्यवहार, र हिंसाको सामना गर्दछन्।

विश्वभर लोकतन्त्रका हिमायतीहरूबाट प्रेरित र समर्थित हाम्रा आआफ्ना सङ्घर्षका परिणाम स्वरूप, आज अमेरिकी तथा नेपालीहरूले विगतको कुनै समयभन्दा धेरै अधिकारहरूको उपयोग गर्दछन् । अझै पनि हामीले आआफ्ना देशमा धेरै यात्रा तय गर्नु छ । मेरो गृह मुलुक अमेरिका, र नेपाल जसलाई आफ्नो घर बनाउन पाउँदा म गौरवान्वित छु, दुबैमा थप काम गर्न बाँकी छ।

अमेरिका अहिले सङ्घर्षरत छ, तर हाम्रो शक्ति आफैंलाई सुधार गर्ने हाम्रो क्षमतामा निहित छ । अमेरिका यति मजबुत छ, विश्वभर मानव गरिमाको पक्ष लिनेहरूको समर्थन जारी राख्दै देशमा आफैंलाई सुधार गर्न हामी सक्छौं र गर्नेछौं।

स्वतन्त्रताका पक्षधरहरू ढुक्क भए हुन्छ: अमेरिका मानव स्वतन्त्रताको रक्षामा स्वदेश र विदेशमा निरन्तर स्पष्ट रहनेछ।

 बेरी नेपालका लागि अमेरिकी राजदूत हुनुहुन्छ।


ताजा खबर