३३१ जनामा थपिएसँगै नेपालमा कोरोना संक्रमित ८६०५

आज थप ३ सय ३१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप २ सय ८२ जना पुरुष र ४९ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

हाल सम्म ७४ जिल्लाका ७ हजार ८ सय ४९ जना पुरुष र ७ सय ५६ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप १ सय ७६ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १ हजार ५ सय ७८ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आईसोलेसन सेन्टरबाट १ सय ५८ जना पुरूष र १८ जना महिला संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सम्म १ सय ४१ जना महिला र १ हजार ४ सय ३७ जना पुरुष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न प्रयोगशालामा हाल सम्म जम्मा १ लाख ६९ हजार १ सय ६५ वटा पिसीआर तथा २ लाख ५२ हजार ३ सय वटा आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ वटा पिसीआर तथा ४ हजार ४ सय २६ वटा आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा १ लाख २ हजार २ सय ४५ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ७ हजार ५ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।


ताजा खबर