‘नर्सहरु न्यून ज्याला र बेरोजगारीले थलिएका छन्’ : मनकुमारी राई

स्वास्थ्य क्षेत्रको  महत्वपूर्ण  अङ्ग हो नर्सिङ  तर नेपालमा भने  नर्सिङ तुलनात्मक रुपमा  हेलामा परेको अनुभव  हुने गरेको छ । यहाँका नर्सहरु  निजी अस्पतालहरुको दमन र कम तलब सुविधाका कारण ठगिएका छन् ।  यि र  यस्तै बिषयमा  हामीले नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राई सँग  सफल कुराकानी गरेका छौं ।  प्रस्तुत छ, देशभरका ९० हजार नर्सको नेतृत्व गरिरहनुभएकी नर्सिङ संघकी अध्यक्ष राईसँगको कुराकानीको सम्पादित अंश :

नर्सका तलब, सुविधालगायत समस्या सम्बोधन गर्ने तपाईंको योजना के छ ? 

निजी अस्पतालमा नर्सलाई दिने पारिश्रमिकमा एकरुपता छैन । लकडाउन सकिएपछि हामी स्वास्थ्य र  आज हामीलेश्रम मन्त्रालयमा गएर समस्याबारे बुझाउँने छौं । दुवै मन्त्रालयको सहकार्यमा जागरुकता ल्याउने र नियमन गर्ने गरी काम हुन्छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार रुपैयाँ पाउनुपर्छ । अहिले त नर्सलाई ५ हजारमा काम लगाइएको छ ।

कम सुविधामा काम लगाउनुको कारण के हो ? 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बिरामी र नर्सको अनुपात मिलेको छैन । जस्तो, आईसीयुमा एक बिरामी बराबर एक नर्स हुनुपर्छ तर व्यवहारमा त्यस्तो छैन । अर्को नर्सको मागभन्दा उत्पादन ज्यादै बढी भएकाले न्यून सुविधामै काम गर्नुपर्ने बाध्यता छ ।

एकातिर कम सुविधा, अर्कोतिर पढ्ने संख्या ठूलो किन ? 

१५/२० वर्षअघिसम्म नर्सिङ पढिरहेका विद्यार्थी शिक्षण अस्पतालबाट पहिल्यै बुक हुन्थे । पढेपछि जागिर पक्का भएकाले धमाधम कलेज खुले र अहिले २/३ सय कलेजबाट बर्सेनि ८ हजार स्टाफ नर्स उत्पादन हुन्छन् । दोस्रोचाहिँ, बीएस्सी गरेपछि विदेश जान पाइने लोभ ।

यति धेरै नर्स विदेशमै खपत हुन्छन् त ? 

होइन, कोही त्यत्तिकै बसेका छन्, कोही क्लिनिकमा काम गर्छन् । बीएस्सी नर्सिङपछि ५० प्रतिशतले बाहिर जान आवेदन दिने गरेका छन् । दर्तावाला नर्स भएर काम गर्ने थोरै मात्र छन् ।

त्यसो भए विदेशको आकर्षण किन त ? 

बहुसंख्यक पढ्दै नर्सिङ केयर (बूढाबूढी र बालबालिकाको हेरचाह) का रुपमा काम गर्छन् । यति गर्दा पनि नेपालमा भन्दा आम्दानीको हिसाबले राम्रो हुने भएकाले हो ।

नर्सले बिरामीप्रति गर्ने व्यवहारबारे बारम्बार प्रश्न उठ्छ किन ? 

अधिकांश अस्पतालमा दरबन्दी थोरै र बिरामीको चाप धेरै भएकाले एक जना नर्सले लामो समयसम्म धेरै जनासँग काम गर्नुपर्छ । कामको चाप छ । कहिलेकाहीँ बिरामी र उनीहरुसँग सम्बन्धित व्यक्तिको व्यवहारले समस्या हुन सक्छ ।

यस्तो हुनुमा कतै हाम्रो शिक्षा प्रणालीमा त खोट छैन ? 

पढाउँदा त हामी भिजिटरले जस्तो व्यवहार गरे पनि नम्र हुनुपर्छ भनेर नै सिकाउँछौँ । भिजिटर, नर्सको व्यक्तिगत आनीबानी र परिस्थितिजन्य कुराले कहिलेकाहीँ यस्तो हुन्छ, जुन नहुनुपर्ने हो ।

नर्सिङको प्रयोगात्मक पढाइमा एउटा बिरामीलाई धेरैले अनावश्यक जाँच गर्ने समस्या छ । गुणस्तरमा त यसले फरक पार्ला नि ? 

प्रक्रिया त सिक्नुपर्छ । सोध्ने कुरा सोध्नैपर्‍यो । एउटै अस्पतालमा ५/६ वटा कलेजले प्रयोगात्मक पढाइ गर्नुपर्छ । यसले ओभर ल्यापिङको समस्या छ । नर्सिङ काउन्सिलले यसको अनुगमन गर्नुपर्छ ।

नर्समा पनि दुर्गमको सेवामा जान नमान्ने समस्या छ । यसलाई निरुत्साहित गर्न संघको भूमिका के हुन्छ ? 

कर्मचारी समायोजनपछि स्थानीय तहले आवश्यकताअनुसार नर्स भर्ना गर्ने भएकाले अब त्यो समस्या नहोला ।

प्रत्येक विद्यालयमा एक नर्सको दरबन्दी राख्ने सरकारको नीति छ, यो नीतिले बेरोजगार नर्सको कति प्रतिशत समस्या सम्बोधन गर्ला ?  

केही हदसम्म गर्ला । ठ्याक्कै तथ्यांक निकालेका छैनौँ । बाग्मती प्रदेशबाहेकले यो नीति नअँगालेकाले चाँडै कार्यान्वयन हुन्छ, हुँदैन भन्ने थाहा छैन ।

राई नेपाल नर्सिङ संघकी अध्यक्ष हुनुहुन्छ ।


ताजा खबर