बजेट विनियोजनसँगै नवौँ राष्ट्रिय खेलकूद सञ्चालन हुने आशा

सरकारले आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट वक्तव्यमा नवौँ राष्ट्रिय खेलूकद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्‍मा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण एवं व्यवस्थापनका लागि रकम विनियोजन गरिएको उल्लेख छ ।

सरकारले आगामी फागुनमा गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिसकेको छ । यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रममा राष्ट्रिय खेलकूदका सम्वन्धमा केही पनि उल्लेख नहुँदा प्रतियोगिता बारेमा अन्योलता छाएको थियो ।

खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिताका बारेमा सरकारको वार्षिक कार्यक्रममा नआउँदा खेल सङ्घ तथा खेलकर्मीले निराशा व्यक्त गरेका थिए । कोभिड–१९ को सङ्क्रमण रोक्न जारी बन्दाबन्दीले हाल खेलकूदका सम्पूर्ण प्रतियोगिता तथा खेल पूर्वाधार निर्माण कार्य प्रभावित भएको र सरकारले समेत कार्यक्रममा यसका बारेमा केही उल्लेख नगर्दा प्रतियोगिताका सम्बन्धमा रहेको दुविधा हाललाई अन्त्य भएको छ ।

बजेट कार्यक्रममा समावेश भएपछि प्रतियोगिता सञ्चालन हुनेमा खेलकर्मी आशावादी छन् । यद्यपी कोभिड–१९ को प्रभाव लामो समयसम्म रहेको अवस्थामा भने प्रतियोगिता तोकिएको मितिमा सम्पन्न हुने अवस्था भने देखिँदैन ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले राष्ट्रिय खेलकूदका लागि बजेट विनियोजनसँगै यस वर्ष प्रतियोगिता नहुने हो की भन्ने आशङ्का हटेको बताउनुभयो । खेलकूदमा आगामी वर्षका लागि विनियोजित बजेटबाट सन्तुष्ट हुने अवस्था नरहे पनि बजेट कार्यक्रमले प्रतियोगिताका सम्बन्धमा रहेको अन्योल भने हटाएको र कोभिड–१९ को अहिलेको सङ्कट अन्त्य भएको खण्डमा प्रतियोगिता सुनिश्चित गराएको बताउनुभयो । रासस


ताजा खबर