यात्रु ठग्‍दै हेटौंडाका सुमो, ४५० भाडा, हजार रुपैयाँ असुली

दसैं मनाउन हेटौंडाबाट काठमाडौं र काठमाडौंबाट हेटौंडा आवतजावत गर्ने यात्रुहरूलाई सुमो ब्याबसायिले निकै ठगि गरेको पाइएको छ।

सुमो व्यवसायि सुमोको कृतिम अभाव शृजना गर्दै यात्रु ठगि गर्न थालेका हुन्। घटस्थापनादेखिनै हेटौंडाका व्यवसायिले सुमो घर घरमा राख्दै सुमो छैन भन्दै बार्गेनिङ गर्ने गरेका छन्। उता काठमाडौंबाट हेटौंडा आउँदा भने सुरुमा यात्रुलाई चुपचाप बोकेर आउने र आधाबाटोमा आएपछि अहिलेको भाडा नै यति हो भन्दै झन्डै तेब्बरसम्म भाडा लिने गरेको पाइएको छ।

यात्रुले गुनासो गर्दा पनि प्रहरी प्रशासनले यसकाविरुद्धमा कुनै कदम अगाडि बढाएको छैन। हेटौंडा उपमहानगरपालिका-५ पीप्लेकी मिना श्रेष्ठलाई काठमाडौंबाट मकवानपुरको भिमफेदी गाउँपालिकाको देउरालीमा आएपछी टाटा सुमोले दुईजनाको भाडा दुई हजार रुपैयाँ लियो। काठमाडौंबाट हेटौंडा बजारतर्फ आउने क्रममा बीचमा प्रहरीको झमेला बेहोर्नुपर्ला भनेर मकवानपुरमा आएपछि मात्र ना१ज ४१६६ नम्बरको टाटा सुमोले श्रेष्ठ दम्पतीको दुईजनाको भाडा वापत बिना टिकट दुई हजार रुपैयाँ लियो।

काठमाडौंबाट हेटौंडा आउनका लागि ४५० रुपैयाँ एक जना यात्रुको भाडा हो। दीपज्योति यातायात नामक सुमोले जनही एक हजार दरले सबैसँग भाडा लिएको श्रेष्ठको गुनासो छ। काठमाडौंमा दसैंको टिका लगाएर हेटौंडा फर्कने क्रममा उनेले असोज २२ गते दिउँसो साढे १२ बजे आफ्ना बुबालाई पनि मध्य हेटौंडा नामको टाटा सुमोले एक हजार रुपैयाँ लिएको बताइन्।

काठमाडौंबाट दसैंको नवमीका दिनमा हेटौंडामा बुबाआमा कहाँ टीका लगाउनका लागि हाम्रो सुमो सेवा (नयाँ ) को ना१ज ७२०१ नम्बरको गाडीमा मकवानपुर गढी गाउँपालिका- ५ का इन्द्रप्रसाद तिमल्सीनासहित तीन जना हेटौंडा आए। उनिहरूलाई सुमोका मालिक, चालक र काउन्टरका कर्मचारी मिलेर भाडामा ठगि गरे। त्यस सुमोमा एउटै गाडीको भाडा दुईथरीका दरले सुमो काउन्टरमा लिइयो। अगाडि सिटमा वस्ने इन्द्रप्रसादलाई एक हजार रुपैयाँ र पछाडी वस्ने श्रीमती र छोरीलाई ८ सय रुपैयाँका दरले सुमो भाडामा ठगि गरे।

तीन जनाको भाडा २६ सय रुपैयाँ तिर्नुपरेको तिमल्सीनाले बताए। हेटौंडाको मेनरोडमै मुख्य कार्यालय रहेको यस सुमोले ठगि गरेको यो पहिलो पटक होइन। काठमाडौंबाट हेटौंडा आउँदा र हेटौंडाबाट काठमाडौं जाँदा यो दसैं सुरु भएखिनै हाम्रो सुमो सेवाले ठग्ने गरेको गुनासो यात्रुको छ।

हेटौंडाबाट छुट्ने एक दर्जनबढी टाटा सुमो काउन्टरले काउन्टरबाट टिकट नकाटीकन करिब चार सय वटा टाटा सुमोमा ४ हजार जना यात्रुलाई ७ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म भाडा रकम लिएर ठगि गरेको खुलेको छ। यात्रु ठग्नेमा भाडाका नम्बर प्लेटका सुमोसँगै अरु निजी नम्बर प्लेटका सुमोहरू समेत छन्।

हेटौंडा चौकिटोलको संयुक्त सुमो काउन्टर, मेनरोड पिपलबोटमा रहेको काउन्टर, बसपार्क, मेनरोडका काउन्टर सबैमा काउन्टरका कर्मचारीले यात्रुसँग मनलाग्दी रुपमा तोकिएकोभन्दा दोब्‍बर र तेब्बरसम्म भाडा लिएका छन्। सबैजसो यात्रुहरू तोकिएको ४ सय ५० रुपैयाँभन्दा बढी एक हजार रुपैयाँसम्म तिरेर हेटौंडा-काठमाडौं यात्रा गरिरहेका छन्।

तर, कही कतै पनि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छैन। एक दिनमा ४ हजार जनासम्म यात्रु ठगिदै आएका छन्। यो ठगि दसैं सुरु हुँदाको घटस्थापना देखिनै हो। तर, आजका दिनसम्म पनि मकवानपुर प्रहरीले ठगि गर्ने सुमोलाई भेट्नै सकेको छैन। यात्रु ठगिनेक्रम भने रोकिएको छैन।

सुमो चालक तथा व्यवसायिले चाडपर्वमा एकतर्फी यात्रु पाइने र एकतर्फी रित्तै आउनुपर्ने भएकोले तेलखर्च उठाउनु पर्ने आफूहरूको बाध्यताभन्दै बढी भाडा लिएको स्वीकार गरेका छन्। तर, आवतजावत गरिरहेका सुमोको प्रहरी पोस्टमा इन्ट्री र आउट तथ्यांकअनुसार सबै सुमोमा सिट प्याक यात्रुहरू रहेका देखिन्छ। काठमाडौंको बल्खु र हेटौंडाको हरेक सुमो काउन्टरमा यात्रु सुमोको प्रतीक्षामै देखिन्छन्।

ठगि नियन्त्रण गर्छौ– प्रमुख जिल्ला अधिकारी

दसैं सुरुहुँदादेखि नै सुरु भएको यात्रु ठगि आजसम्म आइपुग्दा ठगिको दर बढिरहेको छ। काठमाडौ र हेटौंडा दुबै तर्फबाट टाटा सुमोले ठगि गरेको विषयमा नियन्त्रण गर्ने प्रयास भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए।

तर,आजका मितिसम्म कुनै सुमोलाई कारबाही गरिएको छैन। हेटौंडाको चौकिटोल र भैसेमा ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले चेकिङ सुरु गर्ने प्रजिअ जोशीले बताएका छन्।


ताजा खबर