सर्पदंशबाट कसरी बच्ने?

भर्खरै तराईका जिल्लामा आएको बाढी र डुबानले सर्पदंशको त्रास बढेको छ । पानी पर्न रोकिएसंगै बाढी तथा डुबानबाट तत्काललाई तराईका नागरिकले राहत महसुस गरेका छन् तर बाढी र डुबानपछि अत्यधिक बढ्ने सर्पदंशको डर भने उत्तिकै छ । प्राकृतिक प्रकोपपश्चात् प्राकृतिक वासस्थान नष्ट हुने भएकाले उनीहरू मानिसको वासस्थान तिर छिर्ने गर्छन् । बाढीले एक ठाउँबाट बगेर अर्को ठाउँमा आएका र जमिनबाट बाहिर निस्केका सर्पको पनि उत्तिकै हुन्छन् । यसले सर्पदंशको खतरा अत्यधिक मात्रामा बढेको हुन्छ ।

त्यसो त वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामी बढ्ने गर्छन् । गर्मी बढेपछि सर्प बाहिर निस्कने गर्छन् । सर्पदंश नेपालमा जनस्वास्थ्यका लागि ठूलो समस्याको रूपमा रहेको छ । विषालु सर्पको टोकाइबाट विशेषगरी तराई क्षेत्र अत्यधिक प्रभावित हुने गरेको छ । विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने कारण पनि विभिन्न लक्षण देखिन्छन् । आत्तिँदा हृदयाघात हुने, छिटो–छिटो सास फेर्ने, टोकेको ठाउँमा घोचेको महसुस हुने, हात खुट्टा बाउँडिने वा नचल्ने, बेहोस हुने आदि हुन्छ ।

सर्पले टोकेमा के गर्ने?

  • बिरामी आत्तिएर अन्य समस्या देखिन सक्छन् । तसर्थ, बिरामीलाई शान्त पार्नुपर्छ । सबै सर्प बिषालु हुँदैनन् भनेर बुझाउनुपर्छ
  • बिरामीलाई सजिलोगरी भुइँमा सुताएर लुगा खुकुलो बनाउनुपर्छ । टोकेको ठाउँवरिपरि प्रेसर ब्यान्डेज लगाउन सकिन्छ । घाउ बढी चलाउनुहुँदैन । चलाएमा विष मांसपेशीमार्फत रगतमा मिसिन सक्ने भएकाले सजग हुनुपर्छ ।
  • टोकेको सर्पलाई मार्नतर्फ लाग्नुहुँदैन । मार्न थाल्दा अन्य दुर्घटना निम्तिन सक्छ ।
  • टोकेको ठाउँमा रबर वा डोरीले कडा गरी बाँध्नुहुँदैन, ताकि रक्तसञ्चारमा अवरोध नआओस् ।
–घाउमा कुनै पनि औषधि वा रसायनको प्रयोग गर्नुहुँदैन ।
  • सकेसम्म छिटो स्वास्थ्य संस्थामा लैजानुपर्छ । बिरामी सम्हालिन गाह्रो हुने भएकाले अरूको साथ जान आवश्यक हुन्छ ।
टोकाइबाट बच्ने उपाय
  • घर तथा खेल मैदानवरिपरि सफा राख्ने तथा झाडी, ढुंगा, हिलो तथा पातको थुप्रो बनाएर नराख्ने ।
  • ढुंगा वा कुनै वस्तु थुपारेर राखेको ठाउँमा काम गर्दा सजग हुने ।
  • खुला ठाउँ तथा भुइँमा सकभर नसुत्ने र सुतेमा अनिवार्य झुल लगाउने गर्नुपर्छ । त्यस्तै, खेतबारी वा बाहिर काम गर्दा शरीर पूरै छोपिने लुगा लगाउनुपर्छ ।
  • सर्प हुन सक्ने ठाउँबारे बालबालिकालाई सचेत गराउनुपर्छ ।
  • राति अँध्यारोमा हिँड्दा सजग हुनुपर्छ । सकभर बत्ती बालेर वा लौरो टेकेर हिँड्नुपर्छ ।

ताजा खबर