वुहानका सवै कोभिड–१९ सङ्क्रमित निको भई घर फर्के

चीनको सबैभन्दा बढी प्रभावित वुहान सहरका अस्पतालहरूमा उपचाररत सबै कोभिड–१९ सङ्क्रमित व्यक्ति उपचारपछि आइतबार घर फर्किएका छन् । दिङ थरका ७७ बर्षीय पुरूष चीनको मध्य क्षेत्र हुबेईको राजधानी वुहानमा कोभिड–१९ को सङ्क्रमणपछि निको भएर घर फर्किने सबैभन्दा पछिल्लो व्यक्ति हुनुभएको छ । दिङको दोस्रो परीक्षणको रिपोर्टमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि उहाँलाई आइतबार घर पठाइएको वुहान नगर स्वास्थ्य आयोगका अधिकारीले बताएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फङले बेइजिङमा पत्रकार सम्मेलनमा भन्नुभयो, “वुहानले कोरोना भाइरसविरूद्धको लडाईंमा सफलता पाउनुमा वुहान तथा देशका विभिन्न भागबाट त्यहाँ रहेर विरामीको उपचार गर्ने स्वास्थ्यकर्मी तथा अन्य सेवामा खटिने चिनियाँहरूको कडा परिश्रम नै महत्वपूर्ण थियोे ।”

आइतबारको घोषणा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चिनियाँ शहर वुहानको लागि महत्वपूर्ण क्षण बनेको छ । चीनको वुहानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या दुई अङ्कमा झरेको लगातार पाँच दिनपछि र हुबेईमा सबैभन्दा बढी दैनिक ५० हजार ६३३ विरामी र वुहानमा ३८ हजार २० विरामीलाई सेवा दिएको ७० दिनपछि राष्ट्रिय स्वास्थ्य आयोगको उक्त घोषणा आएको हो ।


ताजा खबर