बेलायतमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण शुरु

बेलायतले कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानिसमा परीक्षण थालेको छ। परीक्षणका लागि दुईजनालाई खोपको मात्रा प्रदान गरिएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन्।

खोपको परीक्षण गर्नका लागि ८ सयभन्दा बढी मानिसले आफ्नो नाम लेखाएको बताइएको छ। त्यसमध्ये आधालाई कोरोना भाइरस विरुद्धको खोप र बाँकी आधालाई मेनेन्जाइटिसविरुद्धको खोप दिइनेछ, जसले कोरोना भाइरसकालाई नियन्त्रण गर्ने ठानिएको छ।

खोप लगाइने व्यक्तिले भने आफूलाई कुन खोप दिइदैछ भन्ने थाहा हुने छैन, चिकित्सकलाई मात्रै यसबारे जानकारी हुनेछ। कोरोना भाइरसविरुद्धको खोप लगाउने दुईजना मध्येकी एक एलिसा ग्रानाटोले आफू पनि वैज्ञानिक भएकाले वैज्ञानिक कार्यलाई सहयोग गर्न खोप लगाउने निर्णय गरेको बताएकी छन्।

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिना भित्रै तयार पारेको खोपको मानवीय परीक्षणमा गएको हो।उनले व्यक्तिगत रुपमा आफूलाई खोपमा निकै नै आशा रहेको भन्दै त्यसका लागि परीक्षण गरी मानवबाट तथ्यांक लिएर खोपले वास्तवमै काम गर्छ भनेर देखाउनु पर्ने बताइन्।

अक्सफोर्ड विश्वविद्यालयले यसअघि पनि अर्को प्रकारको कोरोना भाइरस मर्सविरुद्धको खोप पनि बनाएको थियो।अमेरिका, चीन तथा जर्मनी, फ्रान्ससहितका देशले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयास गरेका छन्। अहिलेसम्म कम्तिमा तीन खोप मानवीय परीक्षणको तहमा पुगेको बताइएको छ। बीबीसी


ताजा खबर