![]()
काठमाडौँ, १४ असोज । अघिल्लो शनिबार अर्थात ४ असोजका दिन ओम अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भयो । मृत्युपछि चिकित्सकको लापरवाहीले ज्यान गएको हल्ला चलिहाल्यो । एकै छिनमा भिड जम्मा भयो । भिडमा केही युटुवर समेत मिसिए । उनीहरुले बाहिर होहल्लाका दृश्य खिचे र खोज्न थाले उपचार गर्ने डाक्टर ।
धादिङ गंगाजमुना गाउँपालिकाकी २९ बर्षिया अनिता गुरुङ पत्थरीका शल्यक्रिया गर्न ओम अस्पताल आएकी थिइन । ४ असोजको दिन बरिष्ठ युरोलोजिष्ट प्राडा भोलाराज जोशीको टिमले उनको शल्यक्रिया गरेको थियो । तर शल्यक्रिया गरेको केही घण्टा पछि उनको ज्यान गयो । डाक्टरहरुका अनुसार उनको शल्यक्रिया पछि कार्डियाक एरेष्ट भयो र ज्यान गयो । उनीहरुका चिकित्सा विज्ञानमा यस्तो अवस्था दुर्भल मानिन्छ । तर भयो यस्तै । त्यसपछि शुरु भयो लफडा ।
युटुवरहरु डा. जोशीलाई भेटाए । केरकारको शैलीमा अभद्र रुपमा प्रस्तुत भए । त्रिवि शिक्षण अस्पतालका पूर्व डाईरेक्टर समेत रहेका प्राडा जोशीले शल्यक्रिया गर्दाको अवस्था र त्यसपछिको घटनाकाबारेमा सविस्तार सुनाए । तर युटुवरको शैली झन् झन् आक्रामक बन्दै गयो । यो भिडियो जव युट्युवमा सार्वजनिक भयो चिकित्सक सहित बुझ्ने सर्वसाधारणलाई समेत दुखी बनायो ।
तर त्यस विरुद्ध न चिकित्सक बोले न सर्वसाधारण ।
जव भिडियो भाइरल बन्दै गयो चिकित्सकहरुका संस्थाले एक पछि अर्को गर्दै विज्ञप्ती जारी गर्न थाले ।
घटनाको नवौँ दिन अर्थात १२ असोजमा नेपाल शल्यचिकित्सक समाजका महासचिव डा प्रनिल राईले विज्ञप्ती जारी गरे । दशौँ दिनमा भने अरु नौँ वटा संस्थाले विज्ञप्ती जारी गरे ।
सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डे, नेपाल दन्त चिकित्सक संघका महासचिव डा कुम्भराज जोशी, युवा चिकित्सक संघ नेपालका केन्द्रीय सचिव डा केशवराज न्यौपाने, महाराजगञ्ज स्ववियूका सभापति डा मिलन गैरे, रेजिडेन्ट एसोसिएशन अफ न्याम्स अध्यक्ष डा सरदचन्द्र बराल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुनियर रेजिडेन्ट डक्टर्स वेलफेयर सोसाइटीका अध्यक्ष डा कविराज पौडेल, राष्ट्रिय चिकित्सक संघका महासचिव डा रमेश ढकाल र डक्टर्स सोसाइटी अफ नेपालका महासचिव डा तोसीमा कार्कीले हस्ताक्षर गरी संयुक्त विज्ञप्ती निकालेको केही क्षणमै नेपाल चिकित्सक संघले समेत विज्ञप्ती निकाल्यो ।
विज्ञप्तीको आशय डा जोशीमाथि युटुवरहरुले गरेको गैर जिम्मेवारपूर्ण प्रश्नको शैली थियो । आफ्नो स्पष्टीकरण दिईरहेका डा जोशीमाथि एकैखाले अवान्चित प्रश्नहरु तेस्र्याईरहेका युटुवरको जवाफमा उनले एक पटक गोली हानेर ठिक हुने भए हान्नुस समेत भनेका छन् ।
डाक्टरहरुको प्रतिक्रिया किन यति ढिला ?
ओम अस्पतालको यो घटना मिडियामा आएर सेलाइसकेको विषय हो । अस्पतालले घटनापछि मृतकको परिवारलाई २० लाख दिएर साम्य पारेको समेत खबर सार्वजनिक भईसकेका छन् । तर चिकित्सकहरुले यसपटक निकै ढिला विज्ञप्ती जारी गरे । डा जोशीमाथि गरिएको दुव्र्यवहारपूर्ण प्रश्न र उनलाई प्रश्नकर्ताहरुले गरेको ‘ह्यारसमेन्ट’ सामाजिक सञ्जालमा भाइरल हुँदै गएपछि चिकित्सकहरुको संस्थाको प्रतिक्रिया आउन थालेको हो ।
काउन्सिलको प्रतिक्रिया पनि १० दिन पछि
उपचारका क्रममा उठेका विवादका विषयमा काउन्सिलले पछिल्लो पटक उजुरी नपरे पनि आफ्नो हिसावले छानवीन गर्ने गरेको छ । तर यसपकट भने काउन्सिल समयमै छानवीन अघि बढाउन चुक्यो । घटना के भएको हो भनेर हामीले हिजो पत्र पठाएका छौँ । उताबाट जवाफ पनि आईसकेको छ । काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्माले भने ।
यस्ता छन् विज्ञप्ती
























