देशकै ठुलो महानगर पोखरा महानगरपालिकाले बुधबार ६७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवस विशेष समारोहमा महानगरले समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने नौ जनालाई पोखरेली नवरत्नका रूपमा सम्मान गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगरका प्रमुख धनराज आचार्यले बुधबार आयोजित समारोहमा उहाँहरूलाई जनही दुई लाख दुई हजार दुई सय दुई रुपियाँ, ताम्रपत्र र पदकसहित सम्मान गर्नुभएको हो ।
महानगरले पुम्दीकोटमा विशाल शिवमूर्ति बनाउने अभियानको नेतृत्व गर्ने चन्द्रकान्त बराल, चर्चित ब्यान्ड नेपथ्यका अमृत गुरुङ र उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई नवरत्न सम्मान प्रदान गरेको छ । यसै गरी पोखरेली नवरत्नबाट सम्मानित हुनेहरूमा साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तिलकमान गुभाजू, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राडा बुद्धिबहादुर थापा, शिक्षासेवी प्राडा वीरेन्द्रसिंह गुरुङ, महिला उद्यमी रामकली खड्का तथा उद्योगी हरिप्रसाद पाण्डे सम्मानित हुनुभएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले महानगरले कार्यविधि र मापदण्ड बनाएर समाजका विभिन्न क्षेत्रमा योगदान गर्नेलाई सम्मान गरेको बताउनुभयो । “व्यक्तिगत रूपमा भन्दा पोखरा रत्न भो, नौ जनालाई दिएको हुनाले नवरत्न भनियो,” उहाँले भन्नुभयो, “जीवनभर राम्रो काम गर्नु कठिन कार्य हो । यो राज्यले दिएको कदर हो, एकथान सम्मानपत्र मात्र यो होइन ।”
अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को संयोजकत्वमा विश्व सिग्देल, प्रा. नीता ताम्राकार, दीपेन्द्र श्रेष्ठ र महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल रहेको प्रतिभा छनोट समितिको सिफारिसबमोजिम महानगरले नौ जनालाई नवरत्न सम्मान प्रदान गरेको हो ।
महानगरले यसअघि २०५५ सालमा पत्रकार केशवराज पराजुली, गायक झलकमान गन्धर्व, संस्कृतिकर्मी मीनबहादुर गुरुङ, पर्यटनकर्मी झलक थापा, उद्योगपति बुद्धिबहादुर श्रेष्ठ, समाजसेवी अमृतप्रसाद शेरचन, चिकित्सक कुमारशमशेर राणा, कृषि वैज्ञानिक डा. भुवनरत्न स्थापित र साहित्यकार अलि मियाँलाई नवरत्न सम्मान प्रदान गरेको थियो ।
महानगरले २०५९ सालमा पर्यटनकर्मी हरिध्वज तुलाचन, उद्योगपति हेमबहादुर प्रधान, खेलाडीद्वय रञ्जित गुरुङ र सपना मल्ल, कलाकार दुर्गा बराल ‘वात्स्यायन’, शिक्षाविद् जर्ज जोन, कलाकार कृष्णप्रसाद श्रेष्ठ, साहित्यकार धर्मराज थापा र संस्कृतिकर्मी प्रज्ञारत्न वज्राचार्यलाई पोखरेली नवरत्नका रूपमा सम्मान गरेको थियो । यसै गरी महानगरले २०७२ सालमा भाषाविद् मुकुन्दरशरण उपाध्याय, साहित्यकार सरुभक्त र लोकगायिक हरिदेवी कोइरालालाई पोखरा रत्न प्रदान गरेको थियो । रासस





















