नयाँ कुमारी ‘आर्यतारा शाक्य’ले आज आसन ग्रहण गर्ने

नयाँ कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्ने हुनुभएको छ।

आर्यतारालाई आज दिउँसो १२:०५ बजेदेखि १२:१६ बजे बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ। त्यससँगै हालकी कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने कार्यक्रम छ।

काठमाडौं इटुम्बहालकी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको हो। कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो।

स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई आज मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी गरिएको हो।

विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिनुभयो।

उहाँका अनुसार जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीकका रुपमा पुजा गरिने गरिन्छ। तत्कालीन राजा जयप्रकाश मल्लले कुमारी स्थापना गर्नुभएको बताइन्छ।

कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको कुमारीघर व्यवस्थापन समितिका संयोजक शाक्यले बताउनभयो। हरेक बडा दशैंको कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ। रासस


ताजा खबर