पर्यटन बर्ष : धार्मिक दृष्टिले वैभवपूर्ण छ जनकपुरधाम

Prime Minister Narendra Modi at Janaki Mandir in Janakpur
नेपाल भ्रमणका बेला जानकी मन्दिरमा टीका तथा प्रसाद ग्रहण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
UP CM Yogi Adityanath at the Janaki Mandir in Janakpur, Nepal
भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जानकी मन्दिरमा

पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणपछि माता सीताको माइती जनकपुर हेर्न विश्व लालायित देखिएको छ । प्राचीन मिथिलाको राजधानी तथा प्रदेश नं २ को राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ, धार्मिक गन्तव्यका दृष्टिले पनि वैभवपूर्ण छ । भौतिक पूर्वाधारका हिसाबले जनकपुर सुगम धार्मिकस्थल हो । राजर्षि जनककोे राजधानी, रामचन्द्रको ससुराली र आदर्श नारी सीताको जन्मभूमि जनकपुरमा अन्यत्र गरिएको पापबाट मुक्ति पाइने र यहाँ गरिएको पापबाट अन्यत्र कतै मुक्ति पाइँदैन भन्ने विश्वास छ । हिन्दू धर्माबलम्बीको विशेष आस्थाको केन्द्र जनकपुरधाम पर्यटकीय नगरीमध्ये एक हो ।

धार्मिक पर्यटनको प्रचूर सम्भावना बोकेको जनकपुरधामलाई ५२ कुट्टी ७२ कुण्डको शहरको नामले पनि चिनिन्छ । जनकपुरमा पाइलैपिच्छे विभिन्न देवीदेवताका आकर्षक मठमन्दिर र तालतलैया छन् । जानकी मन्दिरलगायत राममन्दिर, राजदेवी मन्दिर, लक्ष्मण मन्दिर, जनक मन्दिर, गङ्गा सागर, धनुषा सागर, अरगजा सागरलगायत दर्जनौँ तालतलैया र मठ मन्दिर छन् । बिहानैदेखि यहाँका मठमन्दिरमा गुञ्जिने मैथिली गीतसङ्गीतले पर्यटक तथा श्रद्धालुभक्तजनलाई मन्त्रमुग्ध बनाइदिन्छ । अनि भक्तजन र पर्यटक उत्साहित हुँदै भन्छन्, ‘जय सीताराम, जय जय हो किशोरीजी, जय जनकपुरधाम…। ’ रामजानकी विवाहपञ्चमी महोत्सव, विजयादशमी, दीपावली, छठ पर्व, रामनवमी, जानकी नवमीलगायत चाडपर्वमा जनकपुरधामलाई बेहुली झैँ सिँगारिन्छ ।

विश्व सम्पदा सूचीमा राख्ने तयारी
जानकी मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र धर्मस्थल एवं आस्थाको केन्द्र हो । गत भदौ ३० गते पुरातत्त्व विभागले जनकपुरमा पत्रकार सम्मेलन गरी नौलखा मन्दिरलाई विश्व सम्पदाको सम्भाव्य सूचीमा सूचीकृत गराउनका लागि आगामी छ महीनाभित्र क्षेत्र सीमाङ्कन गर्न प्रक्रियाको थालनी गरिने जनाएको थियो । विभागको पहलमा गङ्गासागर, धनुषसागर, राममन्दिर र जानकी मन्दिरसम्मको क्षेत्रलाई आधार मानी सीमाङ्कन गरिने जनाइएको छ । सीमाङ्कन गर्दा सो क्षेत्रमा भवनको मापदण्डबारे सरोकार पक्षसँग छलफल गरी सीमाङ्कनको प्रक्रिया अगाडि बढाइने योजना छ । सीमाङ्कनको प्रक्रिया पूरा भएपछि सीमाङ्कन भइसकेको क्षेत्रलाई संरक्षित प्राचीन स्मारक क्षेत्र घोषणा गरी सूचीकृत हुने अन्य मापदण्डको कार्यलाई गति प्रदान गरिने छ । युनेस्कोद्वारा सन् २००८ मा जानकी मन्दिरलाई विश्व सम्पदाको सम्भाव्य सूचीमा राखिए पनि स्थानीयस्तरमा सूचीकरण मापदण्डप्रति अग्रसरताको अभावले गति लिन नसकेको बताइएको छ ।

प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउने प्रक्रिया र पहलमा सरकार क्रियाशील रहने बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता झाले पनि मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउने सन्दर्भमा मापदण्ड पूरा गराउन उपमहानगरपालिका तयार रहेको बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विश्वसम्पदा सूचीमा सूचीकृत गराउने सन्दर्भमा स्थानीय सरकारले कानूनी आधारको आवश्यक प्रक्रिया पूरा गराउन पहल गर्नु जरूरी रहेको बताउनुभयो । पुरातत्वविद् भीमप्रसाद नेपालले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अन्तर्गत सीमाङ्कनपछि व्यवस्थापकीय योजना निर्माण गर्नुपर्ने जानकारी गराउनुभयो । विभागका प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवर र अभियानकर्मी गोपाल झाले पुरातात्विक सम्पदाको संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने औँल्याउनुभयो ।

विसं २०७१ असोज १५ देखि जानकी मन्दिरलाई विश्वसम्पदा स्थलका रुपमा सूचीकृत गराउने अभियान शुरु भएको हो । हालसम्म भएका प्रगतिको विवरणलगायत कागजात अभियानका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहलाई कागजात हस्तान्तरण गरिसकिएको अभियानका राजकुमार महतोले बताउनुभयो । नगर प्रमुख साहले युनेस्को तथा विभागमा छलफल समेत गरिसकिएको बताउँदै तीनचार वर्षभित्र मन्दिरलाई विश्वसम्पदाका रुपमा देखिने विश्वास व्यक्त गर्नुभयो ।

भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुकुमारीले नौ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमूना मानिन्छ ।

जनकपुरमा राम जन्मको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउनभदौमा झुला महोत्सव र १५ दिने मिथिला माध्यमिकी परिक्रमा मनाइन्छ । यहाँ प्रत्येक पूर्णिमामा हजारौँ श्रद्धालु भक्तजन सहभागी हुन्छन् ।

जानकी मन्दिर निर्माणको सवा सय वर्ष नाघे पनि यसमा स्थापित राम र जानकीका प्रतिमा झण्डै सात सय वर्ष पुरानो भएको संस्कृतिविद्को भनाइ छ । मन्दिरका नाममा अहिले पनि सयौ बिघा जग्गा छ । मन्दिरभित्र त्रेतायुगीन झल्कने सङ्ग्रहालय पनि रहेको छ जसमा रामसीता, राजा जनकलगायतका पहिरनको नमूना र विभिन्न कलात्मक प्रतिमा छन् । मन्दिर ५६ वर्षदेखि भइरहेको अखण्ड रामसीता भजन पनि अबलोकन गर्न सकिन्छ । मन्दिर अवलोकन एवं घुमघामका लागि यहाँ दैनिक हजारौ श्रद्धालुभक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

रामजानकी विवाहमण्डप
रामजानकी विवाहमण्डप जानकी मन्दिरसंँगै टाँसिएर उत्तर छेउमा रहेको छ जहाँ त्रेता युगको रामसीताको विवाहको झझल्को हेर्न सकिन्छ । विवाहमण्डपमा आकर्षक फूलबारीसमेत छ । पछिल्लो समय विवाहमण्डप मानिसहरुको विवाह गर्ने तथा विवाहको निर्णय लिने स्थलका रुपमा विकसित हुन थालेको छ ।

मणिमण्डप
पौराणिक कालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामको विवाह मणिमण्डपमा भएको जनविश्वास छ । मैथिली परम्परामा मडवा बनाई वैवाहिक कार्यक्रम सम्पन्न गरिने चलन छ । त्यहाँ रहेको करीब २ मीटर लामो र त्यत्तिकै चौडा माटोको ढिस्को नै मडवा(मन्डप) हो भने जनविश्वास छ । ऐतिहासिक तथा पौराणिक मिथिला मणिमण्डप प्रचारप्रसारको अभावमा ओझेलमा परेको थियो । पछिल्लो समय सरकारले संरक्षण सम्बद्र्धनमा ध्यान दिँदा र प्रचारप्रसार हुँदा पर्यटकको घुम्ने रोजाइमध्येमा मणिमण्डपसमेत पर्न थालेको छ । यो जानकी मन्दिरबाट झण्डै ४ किमी उत्तरपश्चिम अर्थात् उपमहानगरपालिका– १३ रानीबजारमा अवस्थित छ ।

Mani Mandap: a hidden gem in Janakpur

यस स्थानमा चार वर्षअघि पुरातत्व विभागले उत्खनन गर्दा प्राचीनकालमा बस्ती भएको पर्याप्त प्रमाणसमेत फेला पारेको थियो । माटाका विभिन्न भाँडा, प्राचीन चुल्हो, खरानीलगायत विभिन्न प्रमाण मणिमण्डप क्षेत्रमा फेला परेको छ । धार्मिक मान्यतामा विश्वास गर्नेहरुका अनुसार सोही चुल्होमा सीतारामको विवाहका बेला लावा भुटिएको थियो ।

पिंडारीचोकभन्दा करीब ३ किमी उत्तर पश्चिम कुनामा पर्ने मणिमण्डपमा रहेको मन्दिरमा सीतारामको दिव्य मूर्ति छ । मन्दिरको अगाडि पोखरीमा स्नान गर्नाले प्रत्येक जुनीमा गरिएको पापबाट मुक्ति पाउनाका साथै पुण्यको भागी बन्ने जनविश्वास छ । मङ्सिरमा हुने विवाहपञ्चमीका अवसरमा हजारौँ भक्तजन मणीमण्डपसमेत पुग्छन् ।

गङ्गासागरको महागङ्गा आरती
गङ्गासागरमा सन्ध्याकालमा सधैँ महागङ्गा आरती हुने र भक्तजन एवं पर्यटकको घुइँचो लाग्छ । धार्मिक एवं ऐतिहासिक तलाउ गंगासागर चार वर्षअघिसम्म फोहरमैलाको चपेटामा परेको थियो । अहिले गङ्गासागर जनकपुरकै सबैभन्दा स्वच्छ सरोवरका रुपमा चिनिन्छ जहाँ नित्य साँझ भजन–प्रार्थना गुञ्जिन्छ ।

स्वर्गद्वार
फोहरै फोहर र मुर्दा जलाइने ठाउँ अहिले स्वर्गद्वार भनेर चिनिन्छ । चिटिक्क परेको ठाउँ, रङ्गीबिरङ्गी फूल भएको भुतनाथको मन्दिरसँंगै रहेको आधुनिक दाहसंस्कारस्थल मसानघाट मात्र होइन अहिले पर्यटकीय गन्तव्य बनेको छ । जनकपुरकासमाजसेवी पवन सिंहानियाले चन्दा सङ्कलन गरी स्वर्गद्वार निर्माण गर्नुभएको हो ।

Image may contain: people standing and outdoor

धनुषाधाम मन्दिर
धनुषामै पर्ने जनकपुरभन्दा बाहिर रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल धनुषाधाम पनि हो । रामायणसंँगै सम्बन्धित धनुषाधाममा धनुष मन्दिर छ । राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयवरमा रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ । ‘विष्णु पुराण’का अनुसार त्रिपुरासुर सङ्ग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो । परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए । राजा जनकले उक्त धनुष तोड्नेसंँग नै आफ्नी छोरीको बिहे गरिने शर्त राखेका थिए । रामले ताँदो चढाउँदा भाँचिएको धनु खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभागमा आएर खसेको ठाउँ धनुषाधाम रहेको धार्मिक विश्वास रहिआएको छ । अहिले पनि धनुषाममा धनुषको कण प्रत्यक्ष हेर्न सकिन्छ । धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । धनुषको आकार वर्षेनी बढ्दै गएको स्थानीयवासी बताउँछन् । धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । भक्तजनले धनुषको टुक्रालाई पूजाअर्चना गर्छन् । धनुषाधाम जनकपुरदेखि करीब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाम नगरपालिकामा रहेको छ । यहाँ पन्ध्रदिने मध्यमा परिक्रमाका क्रममा एक दिन विश्राम गरिन्छ । धनुषको टुक्रा अवलोकन र पूजार्चना गर्न दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक एवं श्रद्धालुभक्तजन आउने गर्छन् । यस स्थानमा प्रत्येक वर्ष माघको प्रत्येक आइतबार मकर मेला आयोजना हुन्छ ।

Image result for dhanusha dham mandir

Image result for dhanusha dham mandirरामानन्द प्रवेशद्वार
जनकपुरमा प्रवेश गर्नेबित्तिकै एउटा ठूलो प्रवेशद्वार देखिन्छ । रामानन्द प्रवेशद्वारको माथि स्वामी रामानन्दको प्रतिमा छ । इञ्जिनीयर तथा आर्किटेक्ट शङ्करनाथ रिमालको डिजाइनमा बनेको सो प्रवेशद्वा एशियाकै सबैभन्दा ठूलो प्रवेशद्वार मानिन्छ ।

Image result for Ramananda Gate

‘विष्णु पुराण’, ‘वायु पुराण, ‘शतपथ’, ‘भागवत’, ‘वाल्मीकि रामायण’, ‘बृहदारण्यकोपनिषद्’ जस्ता धार्मिक ग्रन्थमा पुण्यभूमि, तपोभूमि र सर्वश्रेष्ठ तीर्थका रुपमा जनकपुरलाई उल्लेख गरिएको छ । जनकपुरक्षेत्रका जलेश्वर र गिरिजास्थानको पनि धार्मिक पर्यटनमा महत्वपूर्ण स्थान छ । यस्ता प्रशस्त धार्मिक क्षेत्र रहेको प्राचीन मिथिलाको राजधानी र अहिले प्रदेश २ को राजधानी जनकपुरमै भएकाले पनि पर्यटन क्षेत्रको तीव्र विकास हुनुपर्ने सरोकार भएकाहरु बताउँछन् । प्राचीनकालदेखि ज्ञानविज्ञान, धर्मदर्शन, कलासंस्कृति क्षेत्रमा प्रसिद्धि कमाएको जनकपुरलाई आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्न सके यहाँका नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार आउन सक्छ । पर्यटकलाई आकर्षण गर्न सक्ने यहाँका प्राचीन चित्रकला, शिल्प, मूर्तिकलासहित संस्कृतिलाई धार्मिक पर्यटकीय सङ्ग्रहालयमा राख्न सकिन्छ ।

मिथिलाका प्रचलित चाडपर्व विवाहपञ्चमी, रामनवमी, छठ, मिथिला परिक्रमा, होली तथा मिथिला लोकगीत र नृत्यको आयोजना गरी सांस्कृतिक मनोरञ्जन दिन सकिन्छ । मिथिला संस्कृतिको महत्वपूर्ण पक्ष लोकगीत, लोकनृत्य, कला, मठमन्दिर, कुण्ड आदिको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ । मिथिला लोककलालाई पनि विश्वसामु चिनाउनु आवश्यक छ । जनकपुर विवाह भूमि वा आदर्श भूमिका रूपमा स्थापित भएकाले विवाह गन्तव्यस्थलका रूपमा पनि विकसित गर्न सकिने प्रदेश नं २ का उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवशङ्कर साह हीरा बताउनुहुन्छ ।।

राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, सङ्कटमोचन मन्दिर, भूतनाथ मन्दिरलगायत धार्मिकस्थल एवं तालतलैया, सरोवर र दैनिक रूपमा हुने गङ्गा आरतीले धार्मिक पर्यटकका लागि आकर्षण गरेको छ । अग्निकुण्ड, विहारकुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पीपरा कुटी पनि आकर्षणका केन्द्र हुन् । गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड, अरगजा, दशरथसर, गोडधोई, पापमोचनिसर, लक्ष्मणसागर जस्ता ५२ कुटी र ७२ कुण्डको प्रचारप्रसार गरे यहाँको पर्यटन विकासमा निकै टेवा पुग्ने देखिन्छ ।

पछिल्लो समयमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि सरकारले चासो दिएको छ । सरकारले पर्यटन कार्यालय जनकपुर, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मार्फत लगानी पनि गर्दै आएको छ । यसले मध्य तराईको सप्तरीदेखि सर्लाहीसम्मका धार्मिक पर्यटकीयस्थल र प्राकृतिक सम्पदाको संरक्षण सम्वद्र्धन र पूर्वाधार निर्माणमा केही हदसम्म सहयोग पुगेको छ ।

धार्मिक पर्यटनको प्रशस्त सम्भावना भए पनि जनकपुर क्षेत्रको सोचेजति विकास हुन सकेको छैन । जनकपुरका मठमन्दिर, कुटी, कुण्ड तथा यिनको महत्वका बारेमा ‘रामायण’लगायत विभिन्न ग्रन्थमा उल्लेख गरिए पनि अहिले धार्मिक ऐतिहासिक महत्व बोकेका कुटी तथा पोखरी झण्डै ५० प्रतिशत अस्तित्वमा छैनन् र बाँकी धेरैजसो दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गएको छ ।

नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान प्राचीन धार्मिक महत्व बोकेको जनकपुरको जति प्रचारप्रसार हुनुपर्ने हो, त्यो हुन नसकेको बताउनुहुन्छ । “यसको महत्वका बारेमा विश्वसामु प्रचारप्रसार गर्न सके धेरै पर्यटक अध्ययन अवलोकन गर्न आउने थिए”, उहाँले भन्नुभयो ।

जनकपुरको पर्यटन विकासका लागि जनकपुर—चितवन—लुम्बिनी—पोखराको संयुक्त कार्यक्रम बनाएर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी रूपेश सिंहको भनाइ छ । “यसका लागि सबै पर्यटन व्यवसायीले यी चार क्षेत्रको प्रचारप्रसार गर्नुपर्छ, जनकपुर, चितवन, लुम्बिनी र पोखरालाई अन्तरराष्ट्रिय पर्यटन बजारमा चिनाउन हवाई तथा स्थलमार्गको आवश्यकता छ”, उहाँले भन्नुभयो, “यी क्षेत्रलाई समेटेर पर्यटन व्यवसायी अगाडि बढ्न सके विश्वकै नमूना पर्यटकीय गन्तव्यस्थल बन्न सक्छ ।”
पर्यटन व्यवसायी तथा होटेल वेलकमका सञ्चालक अभिशेष झुनझुनबावाला पनि जनकपुर—चितवन—लुम्बिनी—पोखराका पर्यटन व्यवसायीबीच समन्वय गरी कार्यक्रम तयार गर्नुपर्नेमा जोड दिनुहुन्छ । जनकपुर आइपुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई चितवन, लुम्बिनी र पोखराको विशेषताका विषयमा जानकारी दिएर त्यसतर्फ पठाउन सके यहाँ आउने पर्यटकको बसाइ लम्बिने उहाँँको विश्वास छ ।

जनकपुरमा सामान्यतया सेप्टेम्बरदेखि डिसेम्बरसम्मको मौसम सबैभन्दा अनुकूल हुन्छ । यसै समयमा मिथिलाका प्रायः सबै चाडबाड पनि पर्ने हुनाले पर्यटकको बसोबास मनोरञ्जनले भरिपूर्ण हुन सक्ने देखिन्छ । संस्कृतविद् डा सुरेन्द्र लाभ जनकपुर आउने तीर्थयात्रीलाई पर्यटकका रुपमा बदलिन सक्ने गरी गृहकार्यको आवश्यकता रहेको बताउनुहुन्छ । “अहिले जनकपुर आउनेहरु तीर्थयात्री मात्र हुन् । उनीहरु धार्मिक काम गर्छन्, फर्कन्छन् । तिनले खासै खर्च गर्दैनन् । हामीलाई त पर्यटक चाहियो । धेरै पैसा खर्चेर धेरै दिन बस्ने पर्यटक हामीलाई चाहियो । त्यो पूर्वाधार हामीले खडा गर्न सकेका छैनौंँ”, उहाँ भन्नुहुन्छ । डा लाभले तीर्थयात्रीलाई पर्यटकमा बदल्न सरोकारवालाले गृहकार्य गर्नुपर्ने तथा धर्म र मनोरञ्जनलाई जोडेर कहाँकहाँ उनीहरुलाई अल्झाउन सकिन्छ, सोबारेमा सोच्नुपर्ने सुझाव दिनुभयो । जनकपुरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल र देवभूमिका रुपमा विकास गर्न सके प्रदेश २ को आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने बुद्धिजिवी बताउँछन्।

पर्यटक भित्र्याउने उपमहानगरपालिका योजना

Image result for Janakpur Indian Tourist
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणकालागि भारतीयहरुलाई आग्रह गर्दै, साथमा प्रधानमन्त्री केपि ओली

सङ्घीय सरकारको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउन प्रदेश र स्थानीय सरकार पनि जुटेका छन् । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको जनकपुर पनि भ्रमण वर्षको तयारीमा जुटेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह बताउनुहुन्छ । प्रमुख साहले जनकपुरले शहरका सबै मापदण्ड पूरा गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा झँै अब जनकपुर लामखुट्टेले टोक्ने, गन्हाउने र फोहोर छैन, यहाँ आमूल परिवर्तन भइसकेको छ । यहाँ सडक विस्तार भएको छ । फुटपाथको व्यवस्थापन भएको छ । बिजुली–इन्टरनेटका तार र पानीको व्यवस्थापन भएको छ ।”
प्रमुख साहका अनुसार जनकपुरभित्र पर्ने ३२ किलोमिटर सडकको कालोपत्रे अन्तिम चरणमा छ । बीस किमीभन्दा बढी थप सडक विस्तार हुँदैछ । शहरका मुख्य सडक विस्तारमा समस्या थियो । त्यो अहिले करीब करीब सम्पन्न हुन लागेको छ । नगरभित्र ३० देखि ३५ किमीको पिसीसी ढलान भएको छ । विद्युत् व्यवस्थापन भएको छ । बिजुलीका तारहरु सडकमा लत्रेका छैनन् । एघार मिटर उचाइका खम्बा लगाइएको छ । अप्टिकल फाइबर बिछ्याइएको छ । इन्टरनेटको स्पिड पनि बढेको छ ।
उहाँले भन्नुभयो, “यहाँ खानेपानीको व्यवस्थापन हुँदैछ । सडकका दुवैतिर वायरिङ भएको छ । ट्राफिकको व्यवस्थापन पनि भएको छ । गन्हाउने नाली नियन्त्रण गर्दैछौंँ । अहिले हामीसँग ल्याण्डफिल साइट छैन तर पनि फोहोरको व्यवस्थापन गर्दैछौं । सडकको मापदण्डअनुसार काम गर्न र सडक व्यवस्थित गर्न अझै धेरै बजेटको आवश्यक छ । सोका लागि पहल पनि गर्दैछौँ ।”
उहाँले जनकपुरसँग जोडिएका हुलाकी राजमार्गका सडकलाई समन्वय गरी काम अगाडि बढाउन सहयोग गरिएको जानकारी गराउँदै यसलाई मुसलमान धर्मावलम्बीहरुको आस्थाको केन्द्र महोत्तरीको रौजाबजारलाई पनि जोड्ने काम भइरहेको र पूर्वी धनुषालाई जनकपुरधामसँग जोड्ने काम ६ महिनाभित्रमा पूरा हुने तरखरमा रहेको बताउनुभयो । उहाँका अनुसार रेल्वे र एयरपोर्टको कनेक्टिभिटीलाई अगाडि बढाइएको बताउँदै वर्षौँदेखि थाँती रहेका छ सात सडक निर्माण पनि पूरा गरिएको छ ।
भ्रमण वर्षमा विदेशी पर्यटकलाई जनकपुर ल्याउने योजनाबारे जानकारी दिँदै प्रमुख साहले भन्नुभयो, “जनकपुरधाम आस्थाको केन्द्र हो । नजीकको बजार भारत छ । त्यहाँ हिन्दूको बाहुल्य छ । भारतबाट धार्मिक पर्यटक ल्याउन सकिन्छ । यसलाई सांस्कृतिक शहर बनाउन सकिन्छ तर हामीले केन्द्र सरकारको सहयोग पाएनौँ । राजनीतिक आस्थाका आधारमा केन्द्र सरकारले जनप्रतिनिधिहरुसँग विभेद गर्नु भएन । ”

जानकी मन्दिर सौन्दर्य अभिवृद्धि
अहिले जानकी मन्दिरको सौन्दर्य अभिवृद्धिका लागि बृहत् गुरुयोजना निर्माण गर्न प्रदेश सरकार जुटेको छ ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको सक्रियतामा मङ्सिर २७ गते जानकी मन्दिर प्राङ्गणमा भएको सर्वपक्षीय छलफलले मन्दिरको धार्मिक सांस्कृतिक महत्वलाई थप सशक्त बनाउनाका साथै धार्मिक पर्यटनलाई बढावा दिने उद्देश्यले बृहत् गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत मन्दिरमा हाल जारी सौन्दर्यको काम आगामी तीन महिनाभित्र सम्पन्न भएपछि यसको थप सौन्दर्यका लागि ऐतिहासिक तेलहा मरहा पोखरी, विवाहमण्डपसहितको संरक्षण प्रवद्र्धन गर्न बृहत् गुरुयोजना निर्माण गरिने छ । त्यसका लागि प्रदेश सरकार, जानकी मन्दिर, उपमहानगरपालिका र पुरातत्त्व विभागको संयुक्त प्राविधिक टोली निर्माण गरिने तयारी छ । उक्त टोलीलाई आवश्यक परे भारतीय सांस्कृतिक प्राविधिकको समेत सहयोग लिन सकिने निर्णय भएको छ । विसं २०७५ मङ्सिर तेस्रो साता प्रदेश नं २ का मुख्यमन्त्री राउतले मन्दिर परिसरबाट ‘प्रदेश स्वच्छता अभियान’ शुरु गर्नुभएको थियो । अभियानअन्तर्गत मन्दिरमा सिँगमर्मर र टायल्स जडान, तीन मुख्यद्वार पुनर्निर्माण तथा ढल निकास आदिका लागि रु आठ करोड भन्दा बढी बजेट विनियोजन गरिएको छ । -रासस

याह छी हमर जनकपुर,
यी सीताके जनकपुर
यी जनकक गाम जनकपुर,
यी हमरा अहाँक जनकपुर

(रमेश रञ्जन, सुनिल मल्लिक)

https://www.youtube.com/watch?v=e3St225FLFk


ताजा खबर