यू–१८ महिला भलिबल उपाधि न्यु डायमन्डलाई

न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले बागमती प्रदेश न्यु डायमन्ड कप यू–१८ खुला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

डायमन्डले निर्माणधीन भलिबल कोर्टमा शनिबार भएको फाइनलमा एभरेस्ट मावि बुटवललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पुरानो नैकापस्थित न्यु डायमन्डको निर्माणधीन कोर्टमा डायमन्डले एभरेस्टलाई २५–१९, २५–२०, २१–२५, २६–२४ ले हरायो ।

उपाधिसँगै डायमन्डले ५ लाख रुपियाँ पुरस्कार पायो । दोस्रो भएको एभरेस्टले दुई लाख ५० हजार, तेस्रो भएको धादिङ स्पोर्ट्स क्लबले उक लाख तथा चौथो भएको ब्राइट फ्युचर मावि मोरङले ५० हजार रुपियाँ पायो ।

शनिबारै धादिङले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई २५–१०, २५–१३, २५–६ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । डायमन्डकी जेनिशा विश्वकर्मा च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले २५ हजार र ट्रफी प्राप्त गर्नुभयो ।  धादिङकी सजिना बुढाथोकी उदियमान खेलाडी बन्दै १५ हजार रुपियाँ पाउनुभयो ।

डायमन्डकी सलिना बुढामगर उत्कृष्ट सर्भर, प्रगति नाथ सेटर, एन्जिला प्रधान उत्कृष्ट डिफेन्डर र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । एभरेस्टकी निशा चौधरी उत्कृष्ट स्पाइकर र ब्राइट फ्युचरकी सोनिया बस्नेत उत्कृष्ट ब्लकर घोषित हुनुभयो । उत्कृष्ट सबैले जनही १० हजार रुपियाँ पाउनुभयो । रासस


ताजा खबर