मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तारका लागि सत्ता साझेदार दलहरुसँग परामर्श शुरु गर्नुभएको छ ।

सात दलीय गठबन्धनबाट सहमति गरेर प्रधानमन्त्री नियुक्त हुनभएका प्रचण्डले साझेदार दलका शीर्ष नेताहरुसँग मन्त्रिपरिषद विस्तार र जिम्मेवारी बाँडफाँडका बारेमा गृहकार्य गर्नुभएको हो ।

तीन उपप्रधानसहति चार जना विनाविभागीय मन्त्रीले सपथ लिए पनि सत्ता साझेदार दलहरुले मन्त्रिपरिषद् कहिलेसम्म विस्तार गर्ने भने टुङ्गो चाहिँ लागेको छैन ।

सात दलको गठबन्धन रहेपनि सरकारमा भने ४ वटा दलको मात्रै सहभागीता रहने भएको छ । सरकार गठन गर्न सातै दलकले सहयोग गर्ने सहमति भएपनि जनता समाजवादी पार्टीले सरकारमा जाने वा नजाने भन्ने विषयमा टुंगो लगाएको छैन ।

अर्को साझेदार दल राप्रपाले भने सरकारलाई समर्थन गरेपनि मन्त्रीपरिषद्‍मा सहभागी नहुने निर्णय गरिसकेको छ । अर्को साझेदार दल नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो केही एजेण्डाहरु पूरा नभएसम्म सरकारलाई समर्थन गरेपनि मन्त्रिपरिषदमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

दलहरुको मन्त्रिमण्डलमा सहभागी हुने विषय यकिन नभएका कारण मन्त्रिपरिषद विस्तार गर्ने र जिम्मेवारी नतोकि मन्त्री बनेका मन्त्रीहरुलाई मन्त्रालय तोक्ने बारे अझै निर्णय हुन सकेको छैन ।

त्यसो त मन्त्रालय बाँडफाँडको सहमति सत्ता साझेदार दलहरुबीच मोटामोटी रुपमा भइसकेकोले टुङ्गो अनुसार नै सरकार विस्तारको तयारी भइरहेको सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल बताउनुहुन्छ ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायाणकाजी श्रेष्ठ र उप्रप्रधानसहित गृहमन्त्रालयमा रवि लामिछानेले पद तथा गोपनियातको सपथ लिइसक्नुभएको छ ।

त्यस्तै एमालेकै तर्फबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले विना विभागीय मन्त्रीको रुपमा सपथ लिनुभएको छ । यसैगरी, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले नेपाल जनमत पार्टीको प्रतिनिधित्व गर्दै सपथ लिइसक्नुभएको छ ।

अहिले सरकारमा नेकपा माओवादीको नेतृत्वमा नेकपा एमाले, रास्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी सात दलको गठबन्धन बनेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयसहित कुल २५ वटा मन्त्रालय रहेका छन् जसमध्ये सत्ता साझेदारका दलका दलले कुन मन्त्रालय पाउने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ ।


ताजा खबर