एनसेलको चुनाव लक्षित डेटा र भ्वाइस प्याक

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आम निर्वाचन लक्षित डेटा र भ्वाइस प्याक सञ्चालनमा ल्याएको छ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सूचना तथा मतगणना परिणामको ताजा जानकारी लिन यी प्याक उपयोगी हुने एनसेलले जनाएको छ। एनसेल आजियाटा लिमिटेडले विज्ञप्ति मार्फत यो सुविधाले ग्राहकलाई सञ्चार सेवामा पहुँच सुनिश्चितता गर्ने र यसले सेवा सहज तथा सुलभ हुने जनाएको छ।

यसमा दैनिक, साप्ताहिक वा मासिक प्याक छनोट गर्न सकिनेछ। यसमा कर सहित ४८ रुपैयाँमा २४ घण्टा अर्थात् एक दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्कमा पठाउन मिल्ने ४० अल नेट एसएमएस प्याक लिन सकिनेछ।

त्यसै गरी, डबल मजा प्याक अन्तर्गत सात दिनको समय सीमा रहेको पाँच जीबी डेटा र एक जीबी नाइट डेटा उपलब्ध हुनेछ। डबल मजा प्याक खरीद गर्ने ग्राहकले सोही प्याक पुनः खरीद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्नेछन्। जस्तो- पाँच जीबीको प्याक फेरि किन्दा १० जीबी डेटा प्राप्त गर्न सकिनेछ। त्यस्तै, २९ रुपैयाँमा ग्राहकले एकदिने एक जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सकिनेछ।

भ्वाइस सेवा अन्तर्गत अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सकिनेछ। यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र २६५ रुपैयाँमा शुरू गर्न सकिनेछ। एनसेल एप र वेबसाइट मार्फत यी प्याक खरीद गर्न सकिने एनसेलले जनाएको छ।

अन नेट कल अन्तर्गत इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ। प्याक अन्तर्गतको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) ९५ रुपैयाँमा शुरू गर्न सकिने विज्ञप्तिमा जनाइएको छ।


ताजा खबर