संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलितलाई जग्गाको लालपुर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट सुरु गरिएको छ ।
राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन घर परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
भूमिहीन दलितलाई लालपुर्जा वितरण कार्यक्रमको आज सुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले सुरु गरेको भूमिहीनलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहीन कोही पनि जग्गा पाउनबाट छुट्न नहुने बताउनुभयो ।
भूमिहीनलाई भूमि उपलब्ध गराउने अभियानमा देश जुटिरहेको भन्दै मन्त्री श्रेष्ठले बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रुपमा समाधान गर्न आफूहरू लागिरहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले एक वर्षभित्र सबै गाउँ ब्लकको जग्गाको नापी गर्ने र लालपुर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने पनि बताउनुभयो ।





















