बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट आज बिहान ९ बजे भर्चुअल रूपमा बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

श्रीलङ्कामा बुधवार बिमस्टेकको पाँचौँ शिखर सम्मेलन हुँदैछ। राष्ट्रपति गोटवाया राजापाक्षेले अध्यक्षता गर्ने शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमुख भर्चुअल्ली सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री देउवाले पनि शिखर सम्मेलनलाई भर्चुअल्ली सम्बोधन गर्न लाग्नुभएको हो । सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री नारायण खड्का भने यसअघि नै श्रीलङ्काको राजधानी कोलोम्बो पुगिसक्नुभएको छ ।

यसैबीच श्रीलङ्का पुग्नुभएका मन्त्री खड्काले बिमस्टेकका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनुभएको छ । बैठकमा श्रीलङ्कासहित बङ्गलादेश, भारत, भुटान, नेपाल र थाइल्यान्डका मन्त्रीहरू सहभागी हुनुहुन्थ्यो भने सैनिक शासन लागु भएको म्यानमारका विदेश मन्त्री भर्चुअल रूपमा सहभागी हुनुभयो ।

सम्वोधनकाक्रममा परराष्ट्रमन्त्री खड्काले बिमस्टेक स्थापनादेखि हालसम्म भएका उपलब्धिको चर्चा गर्दै बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।

उहाँले यो क्षेत्रमा जनताको जीवनस्तर माथि उकास्न सबैलाई समान अवसर प्रदान गर्नुपर्ने र यो क्षेत्रलाई शान्तिपूर्ण तथा सम्पन्न बनाउन सहकार्य गर्नुपर्ने पनि उल्लेख गर्नुभयो । नेपालले यसअघि गरेको सम्मेलनको समेत खड्काले चर्चा गर्नुभएको थियो ।

बिमस्टेको चौथो शिखर सम्मेलन २०१८ मा काठमाडौँमा भएको थियो । -रासस


ताजा खबर