यो समय बित्नेछ

~सुनिल कोइराला

तिमी खुसी छौ, खुसीमा मजा छ

तर याद गर

यो समय बित्नेछ ।

तिमी दुःखि छौ, दुःखमा पीडा छ

तर याद गर

यो समय बित्नेछ ।

तिमीले चाहेर सुखको पल रोक्न सक्दैनौ

तिमीले चाहेर हर उत्सवसँगै बोक्न सक्दैनौ

तिमी राम्रो छौ, राम्रो हुनुमा मजा छ

तर याद गर

यो समय बित्नेछ ।

दुःख छ, पीडा छ, शोक छ जीवनमा

तिमी यसलाई देख्न सक्दैनौ

वेदना, वियोग र विछोड छ जीवनमा तिमी यसलाई छेक्न सक्दैनौ

तिमी नराम्रो छौ, नराम्रो हुनुमा पीडा छ

तर याद गर

यो समय बित्नेछ ।

आज मेरो सबै छ, आज मेरा सबै छन्

मलाई थाहा छ यो समय बित्नेछ

कुनैदिन म एक्लो हुनेछु, मेरा कोही हुने छैनन्

मलाई थाहा छ

यो समय बित्नेछ ।

समय रोकिए हुन्थ्यो, रोकिन्न

समय नबिते हुन्थ्यो, बित्छ

मेरा मित्र

एकदिन समयसँगै हामी बित्नेछौं

हामीसँगै समय बित्नेछ ।

अनि फेरी युगले भन्नेछ

यो समय बित्नेछ ।


ताजा खबर