मैत्रीपूर्ण खेल नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेले

नेपाली राष्ट्रिय महिला फुटबल टिमले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग बराबरी खेलेको छ ।


त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो ।


आक्रामक रुपमा प्रस्तुत भए पनि दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले बङ्गलादेशसँग दोस्रो पटक गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा बङ्गलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो ।


छैटौँ मिनेटमा गोलकिपर अञ्जना राना मगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै पेनाल्टी बक्समा उपलब्ध गराएको मोस्सामत सोप्नाले अवसर पाए पनि प्रहार गर्न ढिला गर्दा आफैँले फल गर्न पुगेकी थिइन् ।


नवौँ मिनेटमा अमृता जैसीको भली प्रहार बङ्गलादेशकी गोलकिपर रुप्ना चक्माले मुस्किलले नियन्त्रणमा लिइन् । १० औँ मिनेटमा सरु लिम्बुले डिबक्स बाहिरबाट प्रहार गरेको बल चक्माले डाइभ हान्दै बाहिर पठाएकी थिइन् । 


खेलको ३० औँ मिनेटमा बङ्गलादेशकी श्रीमोती सरकारले प्रहार गरेको बल क्रस बारमा लागेर बाहिरिएको थियो । यस्तै खेलको ६७ औँ मिनेटमा बङ्गलादेशकी कप्तान सबिना खातुनको फ्रिकिक नेपालकी गोलकिपर अञ्जनाले सहजै नियन्त्रणमा लिइन् ।


एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ ।


छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।


ताजा खबर