कोरोना तेस्रो लहरको तयारी गर्न गृहको निर्देशन

सरकारले कोरोना संक्रमित सङ्ख्या बढ्दै गएको र तेस्रो लहरको सम्भावनालाई मध्यनजर गरी उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलार्ई निर्देशन दिएको छ ।


गृह मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरूमा आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।


पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पतालहरू हाल स्थगन गरिएकोले सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गरी आवश्यकताको आधारमा अस्पताल र मेडिकल कलेजलाई सूचीकृत गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन मन्त्रालयले अनुरोध गरेको छ ।


यस्तै सूचीकृत अस्पतालहरूमा सङ्क्रमितहरूको तथ्याङ्क/विवरण दैनिक रुपमा अनिवार्य अद्यावधिक गर्न र मासिक अद्यावधिक विवरण यकिन गरी त्यहीअनुसार निःशुल्क उपचार भएका सङ्क्रमितहरूको विवरण सम्बन्धित अस्पतालहरूलाई शोधभर्ना गर्ने प्रयोजनको लागि मन्त्रालयमा पठाउनुपर्ने सूचनामा उल्लेख छ ।


मन्त्रालयले सूचीकृत अस्पतालहरूको नियमित सुपरिवेक्षण एवं अनुगमन गर्न पनि सबै जिल्लालाई निर्देशन दिएको छ ।


ताजा खबर