प्रधानमन्त्री केपीशर्मा ओलीले विगत तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रुप लिएको बताउँदै अब यसलाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ ।
पुर्व परराष्टमन्त्री प्रदीप ज्ञवालीको सवा तीन वर्षे कार्यकालका महत्वपूर्ण मन्तव्य तथा अनुभवलाई समेटेर तयार गरिएका फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी तथा कोभिड १९ मल्टी डिसिप्लिनरी न्यारेटिभ्स् शीर्षकका दुई पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो विचार राख्नुभएको हो । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार आयोजित उक्त कार्यक्रममा संस्थाले प्रकाशन गरेका अन्य दुई पुस्तिकाको पनि प्रधानमन्त्रीले विमोचन गर्नुभएको थियो ।

‘जसरी चुच्चे नक्सालाई कसैले मेटाउन सक्दैन त्यसै गरी विदेश नीतिपनिकसैले हल्लाउन सक्दैन किनकी यो अन्यौलमा होइन, प्रस्टताका आधारमा बनेको छ’, प्रधानमन्त्रीको भनाई थियो ।
उत्पत्तीकाल देखिनै नेपालले कायम गरेको स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियत ऐतिहासिक गौरवको विषय भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले छिमेकीका बीचमा सन्तुलित सम्बन्ध कायम राख्नु पर्नेमा मुख्यजोड रहने पनि बताउनुभयो । ‘यसमा हामी चलाखीले काम लिन चाहँदैनौ र एउटाको विरुद्ध अर्काको कार्ड खेल्दैनौ’, प्रधानमन्त्रीको भनाई थियो ।

नेपालले ‘वसुधैव कुटुम्बकम्’को ऐतिहासिक परम्परा न्याय र अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप एवं साझाहितका आधारमा परराष्ट्र सम्बन्ध अघि बढाउने र त्यसो गरी रहँदा राष्ट्रियहितको संरक्षणलाई केन्द्रमा राखिने पनि उहाँले बताउनुभयो । नेपाल विश्वमा शान्ति छाउनु पर्छ भन्ने मान्यताबाट निर्देशित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, हामी परमाणविक र आमविनाशकारी हतियारको पक्षमा छैनौ, थन्क्याएर राखिएका ति हतियारहरु कथं कदाचित विष्फोट भएभने के होला? भन्नेमा सजग छौं, उहाँको भनाई थियो ।
सबैसँग मित्रता, छैन कसैसँग सत्रुता भन्ने नीति कसैलाई फितलो पनि लाग्न सक्ने बताउँदै प्रधानमन्त्रीले थप्नुभयो, ‘परिआउँदा मात्र लड्ने हो यसो भन्नु कुनै कायरता वा निरिहता होइन’ ।
नेपालले सन्दर्भ गुमाइसकेका पुराना सन्धीहरुलाई नयाँ परिवेशमा बदल्न चाहेको बताउँदै प्रधानमन्त्रीले छिमेकी देश भारतसँग भएका सन् १९५०को जस्ता राणाकालीन सन्धीहरु पुनरावलोकनका लागि दुई प्रमका बीचमा भएको सहमति अनुसार ४-४ जनाको विज्ञटोली बनाइएको समेत उल्लेख गर्नु भयो ।
राजनीतिक प्रसंगमा प्रधानमन्त्री ओलीले आफूले एक पटक‘रिसाएको बिरालोले खाँबो चिर्थोछ’भनेको जस्तै अहिले राष्ट्रपति माथि अवान्छित टिप्पणी गरिन थालिएको उल्लेख गनुभयो । नेताले बोल्ने र अदालतबाट उस्तै फैसला हुने देखिएको तर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘कुखुरा हराएको अघिल्यो दिन धादिङमा कसरी स्याल करायो’ ?

कार्यक्रममा पुर्वपरराष्ट्र मन्त्री ज्ञवालीले विमोचित पुस्तकले आफ्नो कार्यकालका प्रमुख विषय वस्तु समेटेको बताउँदै परराष्ट्र क्षेत्रलाई संस्थागत स्मृति रहने हिसाबले पनि पुस्तक उपयुक्त हुने बताउनुभयो ।
नेपाली परराष्ट्र मामिला विगत सानो र कमजोर मुलुकको लघुता भाषले जकडिएको अवस्थामा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘समस्यालाई गुन्द्री मुनी लुकाएर नभई खुलस्त राख्दा नै राम्रो हुने देखियो’, उहाँले भन्नुभयो । –रासस


















