नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै जोशीको निधनबाट पार्टीले एक कुशल संगठक र र सिंगो मुलुकले एक क्षमतावान नेतृत्व गुमाएको जनाएको छ ।
आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्वर्गीय नेता जोशीको निधनमा चैत्र १५ गतेदेखि १७ गतेसम्म तीन दिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । यसैगरि ती दिनहरुमा शोकका कार्यक्रम बाहेक पार्टीका अन्य औपचारिक कार्यक्रमहरु नगर्ने र चैत्र १७ गते मंगलबार केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नेता जोशीको उपचारकामा क्रममा शुक्रबार राति निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो ।स्व जोशीको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि आज दिउँसो पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । त्यसबखत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले स्वर्गीय नेता जोशीप्रति श्रद्धान्जलि प्रकट गरेका थिए ।
गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । विसं २०१९ सालको असारमा काठमाडौँमा जन्मनुभएका नेता जोशी २०७० सालमा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।




















