प्रधानमन्त्री केपी शर्मा ओलीले जनचेतना र अभिप्रेरणमार्फत मानिसमा मानवीय भावना विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारी र सदस्यसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले युवा केन्द्रित कार्यक्रम बनाएर जागरण गराउन, असल भावना जगाउन र सकारात्मक सोच बनाई स्वनिर्भर बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले रेडक्रसप्रति जनता र सरकारको अपेक्षा तथा भरोसा रहेको र यो विश्वासलाई सुदृढ बनाउनेतर्फ नयाँ समितिलाई सफलता मिलोस् भनी शुभकामना दिनुभएको रेडक्रसका सञ्चार निर्देशक दिव्य पौडेलले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले ५६ वर्षमा रेडक्रसले गरेको विपद् व्यवस्थापन, सङ्कटका समयमा सेवा, रक्तसञ्चारलगायत मानवीय सेवाबारेमा आफू जानकार रहेको बताउँदै बालकोट उपशाखामा पञ्जीकरण हुने गरी आजै रेडक्रसको आजीवन सदस्यता पनि लिनुभएको थियो ।
उहाँले कोभिड–१९का समयमा सुरक्षित भई रक्तदान गर्नु गराउनुको ठूलो महत्व रहेको उल्लेख गर्दै रक्तसञ्चार सेवा कार्यक्रमको प्रशंसा गर्नुभएको थियो । प्रधानमन्त्रीले रेडक्रसलगायत संस्थासँग मानवीय हितका क्षेत्रमा सहकार्य गर्न सरकार तयार रहेको र त्यस्तो सहकार्य मात्र फलदायी हुने धारणा व्यक्त गर्नुभएको थियो । नयाँ समितिलाई प्रधानमन्त्री ओलीले पवित्र संस्थामा पवित्र कार्य गर्न, दान– सहयोग लिँदा सिद्धान्तबमोजिम छ, छैन विचार गर्न, पारदर्शीरुपमा स्रोत ल्याउन तथा होशियारीपूर्वक ग्रहण, संरक्षण र उचित परिचालन गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले संस्थाको तत्कालीन केन्द्रीय कार्यसमितिलाई भङ्ग गर्नुपर्ने औचित्यबारे स्पष्ट पार्दै रेडक्रसको सिद्धान्तबमोजिम कार्यसञ्चालन होस् भनी निश्चित आधार बनाई समाजकल्याण ऐनबमोजिम तदर्थ समिति बनाइएको जानकारी दिनुभएको थियो ।
नेपाल रेडक्रसका नवनियुक्त अध्यक्ष डा नेत्र तिम्सिनाले रेडक्रसको विधानमा सुधार, दर्ता नवीकरण, ऐन निर्माण, वैधानिक सुदृढीकरण, सम्पत्तिको अभिलेखीकरण र सदुपयोग नयाँ समितिको प्राथमिकता रहेको बताउनुभएको थियो । -रासस



















