प्रतिनिधिसभा महिला तथा सामाजिक समितिले सरकारी तथा गैरसरकारी सङ्घ संस्थालाई सुत्केरी बिदाको समान मापदण्ड लागू गर्न निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को व्यवस्था बमोजिम प्रसूति बिदाको अधिकार कार्यान्वयन गर्न, गराउन सरकारलाई निर्देशन दिएको हो ।
समितिको बैठकले प्रसूति बिदाको अधिकार उपभोगमा कानुन बमोजिमको अभ्यास गर्ने व्यवस्था मिलाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले महिला सम्बन्धी कानुनी र नीतिगत प्रावधानहरू सशक्त र प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकाले त्यस्ता कानुनी प्रवधानहरुको पहिचान गरी प्रभावकारी कार्यान्वयन हुन नसक्नुका कारणहरू अध्ययन, अनुसन्धान गरी समितिलाई जानकारी गराउन महिला आयोगलाई समेत निर्देशन दिएको छ ।
बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले कतिपय सरकारी कार्यालयहरूमै पनि निजामती ऐन सरह सुत्केरी बिदा लागु नभएको भन्दै यसको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले आफू मातहतका निकायहरूमा परिपत्र गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरू थममाया थापा, नारायण प्रसाद खतिवडा, गङ्गा चौधरी , लक्ष्मी परियार लगायतले प्रजनन स्वास्थ्य सम्बन्धी बनेका ऐन हरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने र ऐनमा दूर दराजमा रहेका श्रमिक महिलाहरूलाई पनि समेटिनुपर्ने धारणा राख्नुभयो । रासस



















