नेपाल रुबेलामुक्त भएको विश्व स्वास्थ्य सङ्गठको घोषणा

विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको घोषणा गरेको छ।

यो सँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो । नेपालको सफलतामा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयलाई बधाई दिएको छ ।

सङ्गठनका दक्षिण पूर्वी एसिया कार्यालय प्रमुख डा क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै सो बधाई दिएकी हुन् । लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यान लिने कारक यस रोगको उन्मूलन हुनसकेको थिएन । केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।

नेपालले हासिल गरेको यो उल्लेखनीय उपलब्धि खोपबाट बचाउन सकिने रोगहरू विरुद्ध दिइने खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको हो।
दादुरा जस्तै देखिने रुबेला अर्थात जर्मन दादुरा, भाइरसको संक्रमणबाट हुने अति सङ्क्रामक रोग हो। यो रोगले विशेषगरी गर्भवती महिलाहरूमा जटिलता निम्त्याउँछ, जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने, वा बच्चालाई जीवनभर असर पार्ने अपाङ्गता लगायतका समस्याहरु देखिन सक्छन्। तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ।

‘नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरुको लगनशिलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम हो। यस उपलब्धिले शिशुहरूका लागि स्वस्थ जीवनको सुरुवात र रूबेलामुक्त भविष्य सुनिश्चित गरेको छ,’ विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले भनिन् । उनले दक्षिण–पूर्व एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोग (Regional Verification Commission) को सिफारिसलाई स्विकृत गर्दै नेपालबाट रूबेला निवारण भएको प्रमाणित गरिन् ।

क्षेत्रीय प्रमाणीकरण आयोगको वार्षिक बैठकले नेपालको राष्ट्रिय प्रमाणीकरण समितिले पेश गरेको रोग निगरानी र खोप कभरेज दरसम्बन्धी तथ्याङ्क तथा विवरणको समिक्षा तथा मूल्याङ्कन गरी नेपालमा रूबेला निवारण भएको प्रमाणित गर्न सिफारिस गरेको हो।

नेपाल, विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ। सन् २०२६ भित्र दादुरा र रूबेलालाई जनस्वास्थ्य समस्याको रूपमा नरहेको अवस्थामा पुर्‍याउने लक्ष्य हासिल गर्ने सम्बन्धमा भूटान, उत्तर कोरिया, माल्दिभ्स र टिमोर–लेस्टेले दादुरा निवारण गरी सकेका छन् भने भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का, टिमोर–लेस्टे र अब नेपालले पनि रूबेला निवारणमा सफलता प्राप्त गरेका छन् ।

नेपालले सन् २०१२ मा ९ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रूबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । सन् २०१६ मा रूबेला खोपको दोश्रो मात्रा पनि राष्ट्रिय खोप तालिकामा थप गरियो ।

सन् २०१५ र २०२३ का भूकम्प र कोभिड-१९ जस्ता स्वास्थ्य आपतकालिन अवस्थाका बीच पनि सन् २०१२, २०१६, २०२० र २०२४ मा देशभर सञ्चालन गरिएका रुबेला खोप अभियानले जीवनरक्षक खोपहरुमा पहुँच बृद्धि गर्नमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । त्यसैगरी, सन् २०२४ सम्ममा, नेपालले रूबेला खोपको पहिलो मात्रा ९५% भन्दा बढी बालबालिकामा पुर्‍याउन सफल भएको थियो ।

हरेक वर्ष बैशाख महिनालाई ‘खोप महिना’ को रुपमा मनाएर, नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरी स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रलाई नै ‘पूर्ण खोपयुक्त’ घोषणा गर्ने जस्ता नविनतम एवं सृजनात्मक प्रयासहरुले खोपबाट बचाउन सकिने रोग निवारणको लक्ष्यमा पुग्न थप गति प्रदान गरेको छ ।

रोग निगरानीलाई अझ सबल बनाउने उद्देश्यले नेपालले हालै एक सुदृढ प्रयोगशाला परीक्षण प्रणाली लागू गरेको छ, जुन दक्षिण–पूर्वी एसिया क्षेत्रमै पहिलो हो ।

‘रूबेला निवारण गर्न सफल भएकोमा नेपाललाई बधाई छ । यो जनस्वास्थ्य क्षेत्रमा हासिल भएको महत्वपूर्ण उपलब्धि सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदायबीचको बलियो र प्रभावकारी सहकार्यको परिणाम हो । यस यात्रामा योगदान गर्न पाएकोमा विश्व स्वास्थ्य संगठन गर्व गर्दछ र यो उपलब्धि दीर्घकालसम्म कायम राख्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ,’ विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुख डा राजेश सम्भाजिराव पाण्डवले भने । रासस


ताजा खबर