स्वास्थ्य सेवा बिभागले काठमाडौं उपत्यकामा संचालनमा रहेका बिभिन्न अस्पतालहरुमा सञ्चालित खोप कार्यक्रमको बारेमा आज बिशेष समिक्षा बैठक आयोजना गर्यो ।
स्वास्थ्य सचिव खगराज बरालको प्रमुख आतिथ्यमा ललितपुरको होटल हिमालयमा आयोजित बैठकमा स्वास्थ्य सेवा बिभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.भीमसिंह तिंकरीले उपत्यकाका बिभिन्न अस्पतालमा संञ्चालित खोप कार्यक्रमहरुको बिभागका प्रतिनिधिहरु सहितको टोलीले गरेको गहन अध्ययन र अनुगमन पछि तयार पारिएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनमा काठमाडौंका नीजि स्वास्थ्यसंस्थाहरुले राष्ट्रिय खोप कार्यक्रममा दर्ताभई खोप सेवा सञ्चालन गरेका कुल सेवा प्रदायकको संख्या ५२ रहेको तथ्य उल्लेख छ । बिगतमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत ११ वटा रोग बिरुद्ध खोप सेवा प्रदान गर्दै आएकोमा निकट भविष्यमा रोटा भाइरस बिरुद्धको खोप समेत थप गरिने जानकारी समेत गराइएको छ ।

निर्देशक डा. तिंकरीले अस्पतालहरुका लागि केही अनिवार्य पालना गर्नुपर्ने बुँदाहरुर समेत निर्धारित गरिएको जानकारी समेत गराउनु भएको थियो । जसमा, रजिष्टर, ट्याली सिट र चाइल्ड इम्युनाइजेसन चार्ट अनिवार्य रुपमा भर्नुपर्ने , डिफल्टर तथा ड्रपआउट को संख्या अनिवार्य ट्र्याक गर्नुपर्ने, अस्पतालजन्य फोहोरको उचित ब्यबस्थापन गर्नुपर्ने, राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका खोपहरु निःशुल्क उपलब्ध गराउने वा सेवा शुल्कमा एकरुपता ल्याउनुपर्ने, खोप लगाउँदा आउनसक्ने नकारात्मक असर (एडभर्स ईफेक्ट) रिपोर्टिङको ब्यवस्था मिलाउनुपर्ने, खोप सेवा प्रदायकहरु अनिवार्यरुपमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दर्ता हुनुपर्ने, खोप केन्द्रमा अक्सिजन सिलिण्डर सहितको प्रथमिक उपचार बक्सको ब्यवस्था गर्नुपर्ने, खोप तालिका अनुसार खोप पुरा गरेका बालबालिका हरुलाई स्थानीय तहबाट खोप पुरा गरेको प्रमाणपत्र प्रदान गरिने ब्यवस्था गर्नुपर्ने, खोप सेवा प्रदायकले अनिवार्यरुपमा खोपसेवाको तथ्याङ्क एचआइएमएसमा दाखिला गर्नुपर्ने ब्यवस्था रहेको छ ।
डा.तिंकरीले माथिका बुँदाहरु पूर्णरुपमा पालना गरेमात्र राष्ट्रिय खोप कार्यक्रमले सार्थकता पाउने र खोप ऐनको पूर्णरुपमा पालना हुने जिकीर गर्नुभयो ।
परिवार कल्याण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झाले संचालन गर्नुभएको सो कार्यक्रममा RAVIN प्रतिनिधि तथा बरिष्ठ खोप प्राबिधिक सल्लाहकार डा श्याम उप्रेती UNICEF प्रतिनिधि तथा बाल स्वास्थ्य बिशेषज्ञ डा.सुष्मा भुषाल, WHO प्रतिनिधि तथा टिम लिडर डा. अनिद्या शेखर बोस तथा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. रोशन पोखरेलले आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।
–सफल नेपाल,काठमाडौं






















