काठमाडौं मेडिकल कलेजमा सफल कलेजो प्रत्यारोपण

काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा पनि सफल कलेजो (लिभर) प्रत्यारोपण सम्पन्न भएको छ ।

यसलाई नेपाली चिकित्सा क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका–५ का ४० वर्षीय प्रदीप नगरकोटीमा कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई उनकी ३३ वर्षीया श्रीमती यशोदा कुमारी देउवाले कलेजो दान गरेकी हुन् ।

प्रत्यारोपण वरिष्ठ सर्जन डा. रोशन घिमिरेको नेतृत्वमा रहेको चिकित्सक टोलीले गरेको थियो । टवलीमा बरिष्ठहेपाटोप्याङ्क्रियाटोबिलियरी सर्जन प्रा. डा. प्रविन बिक्रम थापा, ग्यास्ट्रो इन्टरलोजिस्ट डा. सागर पौडेल,  एनेस्थेसियोलोजिस्ट डा. सुजाता निरौला रहनुभएको थियो ।

कलेजो प्रत्यारोपण जटिल र जोखिमयुक्त शल्यक्रियाका रूपमा चिनिन्छ । त्यसलाई सफलतापूर्वक नेपालमै सम्पन्न गर्नु देशको चिकित्सा प्रविधिमा भएको प्रगतिलाई संकेत गर्ने घटनाका रूपमा लिइएको छ । प्रत्यारोपण सफल भएपछि नगरकोटी स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

केएमसीका संस्थापक एवं नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले यस उपलब्धिलाई ऐतिहासिक भनेका छन् ।

उनले यस सफलतामा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकहरूलाई धन्यवाद दिंदै भने– ‘अब अंग प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता हट्नेछ ।’


ताजा खबर