पोखरामा १२ औँ राष्ट्रिय आलु महोत्सव आज देखि

पोखरामा आज (आइतबार) देखि १२ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० सुरु भएको छ ।

स्थानीय विष्णुपादुका क्लबले आयोजना गर्ने महोत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलुको बिक्री गरिने महोत्सव मुल आयोजक समितिका संयोजक सुबिन श्रेष्ठले जानकारी दिनुभयो ।

‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबिच अन्तरक्रिया, विभिन्न कृषि उपज, बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङ्ग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहने छन् ।

महोत्सवमा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिब ४८ लाख १० हजार खर्च लाग्ने र ४९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलु खेतीमा आबद्ध छन् । यस वर्षको महोत्सव अन्तर्गत हेमजामा करिब ८० टन आलुको कारोबार हुने आयोजकको अपेक्षा छ । रासस


ताजा खबर