११ औं लिटरेचर फेस्टिभल जारी : ५ दिनमा ५५ सेसन

पोखराको फेवाताल किनारमा बिहीबारदेखि ११औं संस्करणको ‘सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल २०२४’ जारी छ। ५ दिनसम्म चल्ने फेस्टिभलमा करिब ५५ सेसन सञ्चालन हुने बताइएको छ ।

पोखरामा आजदेखि लिटरेचर फेस्टिभल

आयोजक बुकवर्म फाउन्डेसनलले सूर्य नेपालको मुख्य प्रायोजनमा सुरु गरेको शब्दशक्तिको उक्त उत्सवको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो । उहाँले साहित्य र राजनीति दुवै नै समाज परिवर्तनको संवाहक भएको बताए। साहित्यले सपना देख्ने र राजनीतिले त्यसलाई पूरा गर्ने उहाँको भनाइ छ।

blog

‘साहित्य र राजनीति दुवैको अन्तिम ध्येय नै समाज परिवर्तन हो। साहित्यले समाज परिवर्तनका लागि कल्पना गर्दछ,’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘राजनीतिले त्यो परिकल्पनालाई पूरा गर्न सहियोग पुर्याउँछ।’ पोखरामा लिटरेचर फेस्टिभल पोखराकै पहिचानको महोत्सव भइसकेको र यसले पोखराको पर्यटनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्कीले साहित्यले समाजलाई सत्मार्गमा डोहोर्याउनु आवश्यक रहेको बताउनुभयो। उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठान भाषा, ज्ञान विकास गर्न स्थापना भएको सुनाउनुभयो। उद्घाटन सत्रमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत् प्रवचन दिनुभएको थियो।

फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले थुप्रै मेहनतले महोत्सवलाई ११औं संस्करणसम्म ल्याउन सकेको बताउनुभयो। ‘हाम्रा जीवनमा पनि थुप्रै अपूरा, अभावहरु छन्। ती सबैलाई मल्हम साहित्य महोत्सवले गर्छ भन्ने विश्वासले नै हाम्रो अभियान हो,’ उहाँले भन्नुभयो।

फेस्टिभलकै अवसरमा कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ को पुस्तक ‘वात्स्यायन एन्ड हिज बाब्र्स’ विमोचन भएको छ। पोखरा महानगर प्रमुख धनराज आचार्यले उक्त कार्टुन संग्रह विमोचन गर्नुभएको हो । मेयर आचार्यले वात्स्यायन पोखराका अग्ला शिखर भएको बताउनुभयो। उहाँले आफू यसअघि विभिन्न संघसंस्थाको नेतृत्वमा हुँदा वात्स्यायनलाई विभिन्न भूमिकामा रथारोहण गराउने मौका पाएको बताउनुभयो।

कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वात्स्यायनको व्यक्तित्व वर्णन गर्नुभयो। उहाँले दुर्गा बराल पोखराकै लागि एक आदर्श  भएको सुनाउनुभयो।

सोही अवसरमा चित्रकार सुजना श्रीशको चित्रकला प्रदर्शनी पनि सुरु गरिएको छ। उक्त प्रर्दशनी पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले गर्नुभएको हो । पहिलो दिनको अन्तिम सत्र संकवितामा कवि कुमार नगरकोटीले कुटुम्ब ब्यान्डका साथ कविता वाचन गर्नुभएको थियो ।

फेस्टिभलका यस वर्ष पनि देशविदेशका २ सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ। फेस्टिभलमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने  छ।

विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस’का लेखक काई बर्डको सहभागिता हुँदै छ। यस पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’ समेत जितेको थियो। साथै उक्त पुस्तकमा आधारित ‘ओपन हाइमर’ चलचित्र बनेको छ। फेस्टिभलमा प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै हुनुहुन्छ । उहाँको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उहाँले फेस्टिभलमा चर्चा गर्नेछिन्। उहाँको यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो।

विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै हुनुहुन्छ। उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेख्नुभएको छ । उहाँको अर्जी द ड्वार्फ पुस्तक ‘कमनवेल्थ फस्ट बुक प्राइज’ का लागि सर्टलिस्टसमेत भएको थियो। रासस


ताजा खबर