विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेल नेपालले जित्यो

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले सहज जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हरायो ।

blog

नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा भने नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । जितका लागि नेदरल्यान्ड्सले दिएको एक सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५७ रन बनाउनुभयो । उहाँले ३६ बलमा ६ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै आसिफ शेखले अविजित ५४ रन बनाउनुभयो । उहाँले ४५ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । ओपनर कुशल भुर्तेलले २८ रन बनाउनुभयो ।  दोस्रो विकेटका लागि अनिल र आसिफले अविजित १०५ रनको साझेदारी गर्नुभएको थियो । बलिङमा नेदरल्यान्ड्सका भिभियन किंगमाले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्पार्डसले सर्वाधिक ३३ रन बनाउनुभयो । बास डी लिडेले २७, साइब्रान्ड एङ्गेलब्रेख्त २३, नोआ क्रसले १२, कायल क्लेलिनले अविजित ११ तथा आर्यन दत्त र म्याक्स ओुडोउडले १०/१० रन जोड्नुभयो ।

बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिनुभयो । यस्तै ललितनारायण राजवंशीले दुई तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले एक/एक विकेट झार्नुभयो । नेपालले सिरिजको तेस्रो खेल सोमबार पुन: नेदरल्यान्ड्ससँग र अन्तिम खेल बुधबार नामिबियासँग खेल्नेछ ।


ताजा खबर