व्यपारीले आयात गर्न रोकेपछि प्याजको मूल्य आकासियो

नेपाली व्यपारीले भारतबाट आयात गर्न छाडेपछि सिमाक्षेत्रमा प्याजको मूल्य आकासिएको छ । नेपालको मुख्य व्यापारी नाका वीरगन्जलाई प्रयोग हुने आयातमा कमी आएपछि पछिल्लो चार दिनमै प्याजको मूल्य करिब दोब्बरले वृद्धी भएको हो ।

चार दिन अगाडी वीरगन्ज बजारमा ६० रुपैयाँ प्रतिकिलोमा विक्री हुँदै आएको प्याज हाल प्रतिकिलो एक सय ५ रुपैयामा विक्री भइरेहको व्यपारीहरु बताउछन् ।

भारतमा प्याजको मूल्य वृद्धी भएको र नेपाल सरकारले आलु प्याजको आयातमा १३ प्रतिशत भ्याटसहित २७ प्रतिशत कर लगाएपछि आयात गर्न छाडिएको व्यापारी रुपेश कुमार गुप्तालेजानकारी दिनुभयो । उहाँले भारतबाट आयात हुने आलु प्याजलाई भ्याटको दायरमा राखेपछि आयात गर्न छाडिएको बताउनुभयो ।

वीरगन्जमा हाल विक्री भइरहेको प्याज सिमावर्ती भारतीय सहर रक्सौलबाट साईकलमा मगाई वीरगन्जवासीलाई उपलब्ध गराइएको व्यपारी गुप्ताको भनाइ रहेको छ ।

प्याजसँगै अहिले वीरगन्जको तरकारी बजारमा टमाटर, अदुवा लगायत हरियो तरकारीको मुल्य आकासिएको उपभोग्ताहरु बताउँछन् ।

दैनिक उपभोग्य बस्तुमा देखिएको अस्वभाविक मृल्य वृद्धी र महँगीलाई नियन्त्रण गर्न नेपाल सरकारले पहल गर्नुपर्ने उपभोग्ताहरुको भनाइ रहेको छ ।


ताजा खबर